
जुम्ला । जुम्लाका ग्रामीण बस्तीमा सुधारिएको फलामे चुल्होको प्रयोग बढ्न थालेको छ ।
वर्षौंदेखि माटोको परम्परागत चुल्हो र ओदानोको भरमा गुजारा चलाउँदै आएका स्थानीयले सुधारिएको चुल्होको प्रयोग गर्न थालेका हुन् । यसको प्रयोगले धुँवामा पिरोलिँदै खाना बनाउनुपर्ने बाध्यताबाट मात्रै मुक्त गरेको छैन भान्सा सफासुग्घरसमेत देखिन थालेका छन् ।
जुम्लाको हिमा र तिला, कालीकोटको महाबै गाउँपालिका र तिलागुफा नगरपालिकामा सुधारिएको फलामे चुल्होको प्रयोग गर्नेहरू बढेका छन् । धुँवाधुलोले घर नै कालो बनाइरहेको, भाँडाकुँडादेखि कपडासम्म फोहोर हुने गरेकोमा अहिले सुधारिएको चुल्होको प्रयोगले निकै सुधार ल्याएको छ ।
अहिले न घर कालो छ, न त भाँडाकुँडा र कपडा नै । वनमाथिको निर्भरता कम गर्न तथा घरायसीस्तरमा उत्पादन हुने हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन सुधारिएको फलामे चुल्हो प्रयोग गर्न थालिएको हो । यो चुल्होको प्रयोग घरभित्रदेखि बाहिरको वातावरणमा समेत सुधार आएको छ ।
पहिले बिजुली थिएन, सल्लाको झरो बाल्ने चलन थियो, ओदान वरिपरि कालो थुप्रिन्थ्यो । खरानीले धुँदासमेत मैलो जाँदैनथ्यो । सुधारिएको चुल्होको प्रयोगले धरमा धुँवा हट्दा आँखा पाक्ने, दमखोकीलगायतका धेरै समस्या न्यून भएको अनुभव स्थानीयलाई छ ।
अहिले दाउराको खपत पनि धेरै कम भएको छ । जसले दुर्गमका महिलाको कार्यबोझ घटाएको छ । जंगल पनि जोगिने, स्वास्थ्यमा पनि समस्या नहुने भएकोले सुधारिएको फलामे चुल्होको माग अधिक छ । हालसम्म जुम्लामा २ सय ५६ र कालिकोटमा १ हजार ९ सय ४४ गरी २ हजार २ सय थान सुधारिएको चुल्हो प्रयोग भइरहेको छ ।
आगामी सन् २०२९ सम्म जुम्लामा २ हजार २१ र कालिकोटमा २ हजार १ सय ७९ घरमा थप सुधारिएको चुल्हो उपलब्ध गराउने लक्ष्य छ । स्थानीय तहको समन्वयमा सहयोगी हातहरूको समूह- सहास नेपालले जलवायु संरक्षण परियोजनाअन्तर्गत ग्रामीण भेगका महिलाहरूलाई भान्साको धुँवाबाट जोगिन सुधारिएको चुल्हो दिएको हो ।
चुल्होमा संस्थाको ९० प्रतिशत र समुदाय वा स्थानीय सरकारको १० प्रतिशत लगानी रहेको छ । परियोजनामा ३ सय २० वटा कृषक समूह, ३४ वटा युवा समूह र सातवटा बाल क्लब समेटिएका छन् ।