
काठमाडौं । सातामा दुई दिन बिदा र शैक्षिक सत्रसमेत दुई साता ढिला सुरु भएपछि पाठ्यक्रम समयमै सक्न सरकारले वर्षे तथा हिउँदे बिदामा कटौती गर्ने योजना बनाएको छ । शिक्षा मन्त्रालयले बिदा कटौती र परियोजनामा आधारित शिक्षण सिकाइ गरी पाठ्यभार पूरा गर्ने गरी योजना बनाएको हो । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको यो योजना अब शिक्षामन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले पारित गर्नेछ ।
शिक्षा नियमावलीअनुसार वर्षभरि २ सय २० दिन विद्यालय खुल्नुपर्नेमा अहिले १ सय ८४ दिनमात्र सञ्चालन हुने गरेको थियो । सरकारले आइतबारसमेत बिदा दिने निर्णय गरेपछि विद्यालय खुल्ने समय ३८ दिन घटेर १ सय ५४ दिन हुनेछ । त्यसमाथि यस वर्ष शैक्षिक सत्र १५ दिन ढिला सुरु भएको छ । यस्तोमा पाठ्यक्रम सकिदैन कि भन्ने आम चासो छ । सरकारले भने पाठ्यक्रम समयमा सक्न वर्षे तथा हिउँदे बिदामा कटौती गर्ने योजना बनाएको छ । हिउँदे र वर्षे बिदाका १५ दिन पढाइ गरी बाँकी अवधि परियोजनामा आधारित शिक्षण सिकाइ गरी पाठ्यभार पूरा गर्ने तयारी छ ।
मंगलबार वैशाख १५ देखि विद्यालय भर्ना अभियान सुरु गरी शैक्षिक सत्र औपचारिक रुपमा सुरु गरिए पनि पठनपाठन २१ गतेदेखिमात्र सञ्चालन हुने छ । यद्यपि धेरैजसो स्थानीय तहले एक साताअघि नै भर्ना अभियान र पठनपाठन शुरु गरिसकेका छन् । तीन साता पढाइ ढिलो हुनु त्यसमाथि सातामा दुईदिन विदाका कारण पाठ्यक्रम अनुसारको कोर्ष पुरा हुन नसक्ने शिक्षकहरुको भनाइ छ ।
अहिलेसम्मका पाठ्यक्रमले शिक्षण सिकाइमा मात्र जोड दिँदै आएको छ । तर अबदेखि पाठ्यक्रमको निर्दिस्ट लक्ष्य पूरा गर्ने गरी दैनिक घरव्यवहार, सामाजिक परिवेश र ज्ञान सिपसँग जोड्ने गरि परियोजना कार्य अनिवार्य गर्नुपर्ने व्यवस्था गरिनेछ । जसले गर्दा विद्यार्थीको शिक्षण सिकाई र गुणस्तरमा सकारात्मक प्रभाव पार्ने पाठ्यक्रम विकास केन्द्रको भनाइ छ ।
गतवर्ष पनि शिक्षकको आन्दोलन, जेनजी आन्दोलन र निर्वाचनका कारण समयमै पाठ्यक्रम पूरा गर्न विद्यालयहरुलाई हम्मे-हम्मे परेको थियो । अब पनि विद्यार्थीको शिक्षण सिकाई र गुणस्तरमा असर नपर्ने गरि सरकारले पाठ्यक्रमको निर्दिष्ट लक्ष्य पुरा गर्नेगरी योजना ल्याउन आवश्यक छ ।