समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य

वैशाख ८, २०८३ |न्युज एजेन्सी नेपाल
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ ।

मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । त्यसैगरी सदस्यहरूमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो । 

त्यसैगरी बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भूवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन पनि गरेको छ ।

सरकारले तीन वटा विधेयकलाई संघीय संसद्‌मा पेस गर्ने अनुमति पनि दिएको छ । नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो । 


Image

न्युज एजेन्सी नेपाल

कान्तिपुर टेलिभिजन न्युज एजेन्सी नेपालको आधिकारिक ग्राहक हो ।