काठमाडौं । साेमबार नागपञ्चमी।
हिन्दु धर्मप्रति आस्था राख्ने धेरैले साेमबार घरका ढोकामा नागका तस्बिर टाँचेर पूजा गर्ने गर्दछन्।
तपाईँले पनि साेमबारका लागि नागको फोटो जोहो गरिसक्नुभएको होला। तर, तपाईँले बजारबाट ल्याएको नागको तस्बिर कसले बनाउँछ ?
सोच्नुभएको छ ? हाम्रा संस्कृति संवाददाता नारायण किलम्बू र भक्तपुर संवाददाता सुन्दर शिल्पकारले आज तिनै नागका चित्र बनाउने चित्रकारलाई भेटेर आउनुभएको छ।
भक्तपुरकी चेतकुमारी चित्रकारका अनुसार उहाँले नागको चित्र कोर्न थाल्नुभएको ५० वर्ष भयो।
२१ वर्षको उमेरमा उहाँ जसरी चित्र कोर्नुहुन्थ्यो आज पनि उसैगरी चित्र कोर्न र रंग भर्न उहाँ व्यस्त हुनुहुन्छ। पहिले नेपाली कागजमा चित्र कोर्ने उहाँ आजभोलि भने नयाँ खालका कागज प्रयोग गर्नुहुन्छ।
नागपञ्चमीका लागि अष्टकुली, काली नागकन्या बासुकी कर्कोट नागलगायतका विभिन्न प्रकारका नागको चित्र तयार गर्ने गरेको अनुभव चित्रकारले सुनाउनुभयो । चित्र कोर्न खूबै मेहनत लाग्छ। तर, श्रमअनुसार मूल्य पाईँदैन। फेरि आजभोलि ब्लक र आधुनिक मेसिनबाट पनि यस्ता तस्बिर बनाउने गरिएकाले हातैले चित्र कोर्नेहरुले यो काम छोडेका छन्।
विगतमा नागपञ्चमीका लागि नाग अंकित चित्र भारतबाट पनि ल्याउने गरिन्थ्यो। एक दशकयता भने नेपालमै अत्याधुनिक मेसिनमा छापिएका नागका चित्र मानिसहरुले खोज्न थालेको व्यापारीहरु बताउँछन् । हातले कोरिएका नागका चित्र ३० रुपैयाँदेखि १ सय ८० रुपैयाँसम्म पर्छ । तर, मेसिनले छापेका चित्र भने १० देखि ८० रुपैयाँमै पाइन्छ ।
नागपञ्चमीका दिन विधिपूर्वक पूजाआजा गरी घरको मूल ढोकामा नागको चित्र टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट दुख नपाइने जनविश्वास छ । नागपञ्चमीका अवसरमा मात्र नागका चित्र देशभरीमा लाखौंको व्यापार हुने व्यापारीहरु बताउँछन् ।