काठमाडौं । गत वर्ष मनसुनको पहिलो दुई महिनामा ६ सय विपद्को घटना रेकर्ड भएका थिए भने मृतकको संख्या ४२ थियो । तर, यसपालि यही अवधिमा १३ सय २८ विपद्को घटना भएका छन् र यिनमा ६८ जनाको मृत्यु भएको छ ।
त्यसमा पनि विपद्ले रोल्पा, जाजरकोट र बाजुरालाई नराम्ररी गलाएको छ । आखिर यसपालिको विपद् किन यी जिल्लामा देखियो ? के भन्छन् विज्ञ ?
लगातार पाँच दिनसम्म मध्यमदेखि भारी वर्षा भएपछि साउन २७ गते राति रोल्पाको थबाङमा पहिरो खस्यो । १२ जनाको ज्यान गयो । एकजना अझै बेपत्ता छन् भने दुई घाइते छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो जानुका कारणमध्ये एउटा गाउँमाथिको पाखोमा बाटो खनिनु पनि थियो ।
लगातारको झरीपछि अव्यवस्थित रूपमा खनिएको बाटोको माटो पानी परेसँगै लेदाेको रूपमा परिणत भयो । त्यही लेदो गाउँसम्म आउँदा नाैवटा घर, एक घुम्ती पसल, एक गोठ र एक चर्चसमेत पूर्णरूपमा पुरियो ।
भोलिपल्ट रोल्पाकै सुनछहरी गाउँपालिकामा पहिरो गयो । दुई घर पुरिँदा चार जनाको ज्यान गयो । ३० गते लुङ्ग्रीमा गएको पहिरोमा एक घर पुरिँदा एक जनाको मृत्यु भयो । योसँगै पछिल्लो पाँच दिनमा रोल्पामा मात्रै पहिरोमा परी १७ जनाको मृत्यु भएको छ ।
तर, विपद् रोल्पामा मात्र छैन । २८ र २९ गतेको बाढीपहिरोमा परी जाजरकोटमा चार जनाको मृत्यु भएको छ भने नाै बेपत्ता छन् । बाजुरामा भने एक जनाले ज्यान गुमाउँदा दुई बेपत्ता छन् । जाजरकोट पहिरोबाट १ सय ५० जनाभन्दा बढी विस्थापित भएका छन् भने बाजुरा पहिरोबाट २० घरपरिवार विस्थापित छन् ।
अर्थात् पछिल्लो पाँच दिनमा रोल्पा, जाजरकोट र बाजुरामा मात्र बाढीपहिरोले २२ को ज्यान लिएको छ । विज्ञहरू रोल्पा, जाजरकोट र बाजुरामा ठूला पहिरो जानुमा भूकम्पको असर मान्छन् । भूकम्पमा चिरा परेका जमिनमा पछिल्लो समय परेको अविरल वर्षाले माटो पूर्णरूपमा भिजाएको र चिरा परेको स्थानबाट खस्न थालेको विज्ञको भनाइ छ ।
यसका साथै पछिल्लो साता यी जिल्लाहरूमा दैनिक ५० देखि १०० मिलिमिटरसम्म पानी परिरहेको छ । यो भनेको मध्यमदेखि भारी वर्षा हो । आइतबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमान्ड फोर्सको बैठकले पहिरो प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने, घर निर्माण कार्य छिटो गर्ने, रोल्पा-जाजरकोट-बाजुराको पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन सुरु गर्ने, मनसुन अवधिभर थप सतर्कता अपनाउन अनुरोध गर्नेलगायतका निर्णय गरेको छ ।
गत असार ५ गते नेपालमा मनसुन भित्रिएसँगै यो ५९ दिनमा १३ सय २८ विपद्को घटना भएका छन् । यिनमा ६८ जनाको मृत्यु भइसकेको छ । पाँच बेपत्ता छन् भने एकसय १९ घाइते भएका थिए । साथै यो दुई महिनाको अवधिमा १४ सय १४ परिवार विस्थापित भएको छ ।
गत वर्ष मनसुनको यही अवधिमा ६ सय विपद्को घटना रेकर्ड भएका थिए । मृतकको संख्या पनि ४२ थियो । अर्थात् घटना दोब्बरभन्दा बढीले उकालो लाग्दा मृतकको संख्या पनि डेढ गुणाले बढेको छ ।