ड्रोनबाट अम्रिसोको बीउ छरेर पहिरो रोक्ने प्रयास

भाद्र २, २०८३ |नवीन पौडेल
ड्रोनबाट अम्रिसोको बीउ छरेर पहिरो रोक्ने प्रयास

नवलपरासी । वर्षौंदेखि खसिरहेको पहिरो रोकथामका लागि आवश्यक बजेट नभएपछि पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ५ राम्चे बस्ती जोगाउन भन्दै प्राकृतिक पद्धतिबाट पहिरो रोकथाम गर्ने उद्देश्यले ड्रोनमार्फत अम्रिसो छरिएको छ ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ५ स्थित राम्चे बस्तीमा पहिरो जान लागेको ४० वर्षभन्दा बढी भयो। ४० वर्षदेखि यस क्षेत्रमा निरन्तर पहिरो गइरहेको छ। जसको कारण अहिले राम्चे बस्ती चिरा चिरा परेको छ । सडक, बस्ती भासिएर बस्न लायक छैन । 

ठूलो पहिरो रोक्न नसके पनि नियन्त्रण तथा व्यवस्थापनका लागि विश्व वन्यजन्तु कोष- डब्लूडब्लूएफको सहयोगमा ड्रोन प्रविधिको प्रयोग गरी आकासबाट बीउ छर्ने- एरियल सिडिङको काम सुरु गरिएको छ। नियन्त्रणका लागि आधुनिक संरचना निर्माणमा अत्याधिक बजेट लाग्ने भएपछि विकल्पका रूपमा यो विधि रोजिएको हो ।

महाभारत पर्वत शृफ्लामा पर्ने यो खण्डमा पहिरोको जोखिम बढेपछि यसको नियन्त्रणको लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले विभिन्न समयमा अध्ययन गरे पनि बजेट अभावकै कारण काम अगाडि बढ्न सकेन । पहिरोको कारण नजिकैको काउले बस्ती केही वर्ष अगाडि नै विस्थापित भइसकेको छ। 

बसाइँसराइ गरेर अन्य स्थान जान सक्नेहरू बसाइँसराइ गरे पनि निम्न आर्थिक स्रोत भएका स्थानीय अहिले पनि जोखिम मोलेर बसिरहेका छन् । उनीहरु आफूहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने माग गरेका छन्। यो क्षेत्र अम्रिसो खेतीका लागि प्रसिद्ध रहेको छ । 

तर, जमिन चिरा परेको कारण मानिसले खेती लगाउन सक्ने अवस्था छैन् । अम्रिसोको जराले माटोलाई समाउने र त्यसले भूक्षय हुन कम गर्ने उद्देश्यले ड्रोनको प्रयोग अम्रिसोको बीउ छरिएको हो तर यसले पहिलो रोकिन्छ भन्ने ग्यारेन्टी भने छैन ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।