काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आइतबार नेपाल आइपुग्नुभएकाे छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उहाँ आइतबार साँझ नेपाल आउनुभएकाे हाे । साेमबार नेपालका प्रधानसेनापति अशोकराज सिग्देलसँग उहाँको भेट हुने बस्नेतले बताउनुभयो । भारतीय सेनाध्यक्षको यो नेपाल भ्रमण किन ?
अनि यो भ्रमणसँग जोडिएको परम्परा के हो ?
भारतीय प्रधानसेनापति धिरज सेठले सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको मानार्थ महारथीको उपाधि ग्रहण गर्ने कार्यक्रम छ । सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार रक्षामन्त्रीसमेतको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री वालेन्द्र शाहसँग भने सेठको भेट निश्चित भइसकेको छैन ।
प्रधानमन्त्री शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ । २०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हाल्नुभएका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउनुभएकाे हाे ।
सन् १९५० देखि नेपाल र भारतबीचको विशेष सैन्य सम्बन्धको महत्त्वपूर्ण प्रतीकका रूपमा दुवै देशका प्रधानसेनापतिलाई एक-अर्को देशको मानार्थ महारथीको दर्जा दिने परम्परा रहँदै आएको छ । यसलाई विशेष सैन्य सम्बन्धको महत्त्वपूर्ण प्रतीकका रूपमा लिइन्छ ।
यो परम्परा नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको वर्ष सन् १९५० देखि सुरु भएको हो । भारतीय सेनाका प्रथम प्रधानसेनापति जनरल के.एम. करिअप्पा नेपालबाट मानार्थ महारथीको दर्जा प्राप्त गर्ने पहिलो भारतीय सेना प्रमुख हुनुहुन्थ्यो । त्यसैगरी, नेपाली सेनाका तत्कालीन प्रधानसेनापति जनरल किरण शमशेर राणालाई भारतबाट मानार्थ महारथीको दर्जा प्राप्त गर्ने पहिलो नेपाली सेना प्रमुखका रूपमा उल्लेख गरिन्छ ।
त्यसयता यो परम्परा निरन्तर कायम छ । सामान्यतः सम्बन्धित देशका राष्ट्रप्रमुखबाट अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गरिन्छ । नेपालमा भारतीय थल सेनाध्यक्षलाई राष्ट्रपतिले मानार्थ दर्जा दिँदा भारतमा पनि राष्ट्रपतिबाटै यो सम्मान प्रदान गरिन्छ ।
मानार्थ महारथीको दर्जा कुनै वास्तविक सैन्य कमान्ड, परिचालन वा निर्णयाधिकार दिने पद होइन । यो दुई देशका सेनाबीच रहेको पारस्परिक सम्मान, मैत्रीपूर्ण सम्बन्ध र दीर्घकालीन सैन्य सहकार्यको प्रतीकात्मक सम्मान हो । नेपाल र भारतबीच लामो समयदेखि सैन्य तालिम, संयुक्त अभ्यास, उच्चस्तरीय भ्रमण तथा विभिन्न सुरक्षा मामिलामा सहकार्य हुँदै आएको छ ।
नेपाल-भारत सम्बन्धमा विभिन्न उतारचढाव आए पनि सेनाबीचको यो परम्परा निरन्तर रहँदै आएको छ । त्यसैले मानार्थ महारथीको दर्जा केवल सैन्य सम्मान मात्र नभइ दुई देशका सेनाबीचको ऐतिहासिक सम्बन्ध र पारस्परिक विश्वासको प्रतीकका रूपमा लिइन्छ ।