
दाङ । लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।
सातौं अधिवेशनको १४औं बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयकमाथि छलफल तथा पारित गरियोस् भनी गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको सभामुख तुलाराम घर्तीमगरले जानकारी गराउनुभयो ।
मंगलबारको बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन पेस गर्नुभएको छ भने यस्तै रामजी प्रसाद घिमिरेले भौतिक पूर्वाधार तथा विकास समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको छ ।
प्रदेशसभा बैठकको विशेष समयमा प्रदेश सभा सदस्यहरूले विकासका लागि बजेट भए पनि त्यसको प्रभावकारी सदुपयोग हुन नसकेको, संघीय सरकारको नीतिले जनतालाई दुःख दिएको, एकसय रुपैयाँभन्दा माथिका सामानमा भन्सार लगाउनु समस्याजनक भएको प्रदेश मातहतमा रहेका डिभिजन कार्यालयहरू प्रदेशप्रति उत्तरदायी हुन नसकेको लगायतका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशसभा सदस्य शान्ति लोद, निलम पासवान, भगवतीकुमारी थरुनी, सुधाकर पाण्डेय, अम्बिका काफ्ले, रेवती गुरुङ, दिलकुमारी बुढा, बसन्ती न्यौपाने लगायतले मंगलबारको बैठकमा आ आफ्नो धारण राख्नु भएको थियो । लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशनको १५औं बैठक बुधबार दिउँसो १ बजे बस्ने जनाइएको छ ।