.png&w=1000&height=550)
प्यूठान । कुनै समय झिसमिसेमै उठेर पाधेरोमा पुगेर पानीको जोहो गर्ने प्यूठानको गौमुखी गाउँपालिकाका बासिन्दा अहिले घरघरै धारा आएपछि दंग छन् ।
गाउँपालिकाले एक घर एक धारा कार्यक्रमलाई अभियानका रूपमा अघि बढाएपछि गाउँपालिकाभित्रका गाउँगाउँ र बस्ती बस्तीका घरआँगनमा धाराबाट कलकल पानी झर्छ । कुल ५ हजार ६ सय घरधुरी रहेको प्यूठानको गौमुखी गाउँपालिकामा अहिले धमाधम एक घर एक धारा कार्यक्रम सञ्चालन भइरहेको छ।
गाउँपालिकाले खानेपानीको समस्या भएका बस्तीहरूमा सहज खानेपानी पुर्याउनेगरी काम थालेपछि अहिले गौमुखी गाउँपालिकाका बस्तीहरूमा खानेपानीको सहज व्यवस्था हुन थालेको छ। कुनै समय झिसमिसेमा उठेर पँधेरोमा पुगेर खानेपानीको जोहो गर्नुपर्ने गौमुखी गाउँपालिकाका बस्तीहरूमा अहिले घरघरै पानीका धारा छन् ।
पँधेरोमा गएर पालो कुरेर पानी भर्नुपर्ने बाध्यता हटेको छ। धारामा पानी चौबिसै घण्टा आउँछ । मन लागेको र आवश्यकता परेको बेला उपभोग गर्न पाइने भएपछि स्थानीय दंग छन् । गौमुखी गाउँपालिकामा हालसम्म १ हजार ५ सय ४५ धरधुरीमा एक घर एक धारा जडान भएको छ ।
गौमुखी गाउँपालिका, नेवा कार्यक्रमलगायत नियकासँगको साझेदारीमा खानेपानी आयोजना कार्यान्वयनमा छन् । गौमुखी गाउँपालिकाले करिब सात सय, लिफ्टमार्फत २ सय ५० र नेपाल स्वास्थ्यका लागि पानी -नेवा कार्यक्रमको साझेदारीमा ५ सय ९५ घरधुरीमा धारा निर्माण भएका छन् ।
गाउँपालिकाका ८५ प्रतिशत घरधुरीमा सामुदायिक धारामार्फत टोलटोलमा खानेपानी सुविधा पुगेको छ। घरघरमा धारा निर्माण भए पनि दैनिकीमा समेत सहजता भएको छ ।