
कञ्चनपुर । मनसुन लाग्नासाथ रातभरि जाग्राम बस्नुपर्ने, बस्तीमा बाढी पस्नेबित्तिकै सुरक्षित स्थान खोज्दै भाग्नुपर्ने कञ्चनपुरको लालझाडीबासीको पीडा अब कम हुँदैछ ।
विपद् जोखिमयुक्त क्षेत्रमा निर्माण गरिएको बहुउपयोगी आश्रयस्थलले एक सयभन्दा बढी परिवारलाई सुरक्षित छानो मात्रै होइन, विपद्सँग जुध्ने आत्मविश्वाससमेत थपेको छ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा मनसुनजन्य विपद्लाई लक्षित गर्दै आपत्कालीन सुरक्षित आश्रय स्थल निर्माण गरिएको छ।
बाढी, डुबान तथा अन्य आकस्मिक विपद्का बेला स्थानीय नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गर्न गाउँपालिकाले प्राक्टिकल एक्सन र पेसवान नामक गैरसरकारी संस्थासँगको सहकार्यमा उक्त बहुउपयोगी भवन निर्माण गरेको हो । २०८२ भदौ २२ गते ४९ लाख ८१ हजार रुपैयाा लागतमा ठेक्का सम्झौता भई २०८३ असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भवन निर्धारित समयभन्दा अगावै चैत महिनामै निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
दुईतले संरचनासहित निर्माण गरिएको उक्त भवनलाई विपद्को समयमा मात्र होइन, अन्य समयमा पनि सामुदायिक प्रयोजनका लागि उपयोग गर्न सकिने गरी तयार गरिएको छ। गाउँपालिका क्षेत्रभित्र वन्यजन्तु बस्तीमा पस्ने, आकस्मिक प्राकृतिक विपद् हुने वा अन्य आपत्कालीन अवस्था सिर्जना भएमा पनि भवनलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।
साथै बैठक, तालिम, सभा तथा सामाजिक कार्यक्रम सञ्चालनका लागि समेत भवन उपयोग भइरहेको छ । अहिले विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालनमा प्रयोग भइरहेको उक्त भवन आगामी मनसुनमा बाढीपीडित नागरिकको सुरक्षित सहाराका रूपमा उपयोग गरिने तयारी गरिएको छ।
स्थानीय समुदायले पनि आश्रयस्थल निर्माणसँगै विपद्को समयमा आफूहरू थप सुरक्षित भएको महसुस गरेका छन्। विशेषगरी लालझाडी २ र ३ नम्बर वडा भित्रका प्रभावित समुदायका करिब ११० घरधुरीलाई लक्षित गरी निर्माण गरिएको उक्त आश्रयस्थलमा एकैपटक करिब ८ सय जनासम्म अट्न सक्ने क्षमता रहेको छ।
विगतमा बाढी बस्तीमा पसेपछि सुरक्षित स्थानको खोजीमा उचो भूभागमा रहेका विद्यालय र सार्वजनिक स्थलमा धाउनुपर्ने बाध्यता रहेकोमा अब त्यसको अन्त्य हुने स्थानीयको विश्वास छ। लालझाडी गाउँपालिकाले संरचना निर्माणमा मात्र सीमित नरही समुदायस्तरमै विपद् व्यवस्थापन क्षमता विकासमा पनि जोड दिएको छ।
सशस्त्र प्रहरी बलसँगको सहकार्यमा समुदायका केही व्यक्तिलाई खोज तथा उद्धारसम्बन्धी तालिम प्रदान गरिएको छ। तालिम प्राप्त व्यक्तिहरू अहिले सामुदायिक खोज तथा उद्धार कार्यदल बनाएर विपद्का बेला परिचालन हुन तयार अवस्थामा रहेका छन्।
विगतमा हरेक वर्ष बाढीको समयमा सुरक्षित आश्रयको खोजीमा भौतारिन बाध्य स्थानीयवासीका लागि अब लालझाडीको यो बहुउपयोगी आश्रयस्थल भरोसाको केन्द्र बनेको छ । समुदायस्तरमै विपद् व्यवस्थापन र खोज तथा उद्धार क्षमतासमेत विकास गरिएकाले आगामी दिनमा विपद्का बेला स्थानीय नागरिक थप सुरक्षित, व्यवस्थित र आत्मविश्वासी हुने अपेक्षा गरिएको छ ।