
न्युयोर्क । खाना अनि त्यसका विभिन्न परिकारले जातीय र क्षेत्रीय पहिचानमात्र स्थापित गर्दैन ।
परिकारको विविधताले कुनै पनि मुलुकको सभ्यता तथा मौलिकतालाई चिनाइरहेको हुन्छ । अमेरिका अनि न्युयोर्कमा खोलिएका धेरै नेपाली रेस्टुरेन्टले खानाको स्वादसँगै नेपाल परिचय व्यापक बनाउन उल्लेख्य भूमिका खेलिरहेका छन् ।
प्रतिष्ठित मिडिया न्युयोर्क टाइम्सले उत्कृष्ट सय रेष्टुरेन्टभित्र न्युयोर्कमा रहेको नेपाली भान्छा घर रेस्टुरेन्टलाई पनि समावेश गरेपछि नेपाली समुदाय उत्साहित छ। न्युयोर्कको क्वीन्सको मुटु मानिने ज्याक्सन हाइट्सको ७४ स्ट्रिट रुजभेल्ट एभेन्यूको रेल स्टेसनबाट बाहिर निस्किनासाथ भेटिने नेपाली भान्छा घरमा ग्राहकलाई वर्षौंदेखि सेवा दिँदै आएकी बिमला हमालले रेस्टुरेन्ट सुरु गर्दा अहिलेको सफलताको कल्पना सायदै गर्नुभएको थियो।
नेपाली समुदायमा बिमला दिदीको रूपमा सम्मानित हमालको यो रेस्टुरेन्टले न्युयोर्क सिटीमा हुने मम प्रतियोगिता पनि कैयन पटक जितिसकेको छ । नेपाली समुदायका अगुवाहरुले पनि भान्छाघरकी बिमलालाई समाजकै अभिभावक मान्ने गरेका छन्।
सन २०१५ देखि सुरु भएको नेपाली भान्छाघरमा नेपालीका प्रिय परिकार सेल रोटीदेखि मम चाउमिन तथा भुटन सुकुटी पनि उत्तिकै बिक्री हुने गर्दछ । गोलार्द्धको विपरीत बसेर नेपाली परिकारको प्रचार गर्न पाउनु तथा नेपाली स्वादसँगै नेपाली पहिचान पनि विस्तार गर्न पाउँदा गर्व महसुस नहुने कुरै भएन ।
स्वदेशमै त कति गाह्रो छ व्यापार गर्न अझ विदेश अझ न्युयोर्क जस्तो विविधता भएको स्थानमा रेस्टुरेन्ट व्यवसाय त्यसमा पनि एक महिलाले, तर बिमलाको धैर्य आँट र साहसले सफल र उदाहरणीय बनाइ छोड्यो। सन २००८ मा अमेरिका आएकी बिमलालाई लगनतशीलता, आत्मविश्वास तथा इमान्दारीले अहिले नेपाली माझमात्र होइन अन्तराष्ट्रिय सञ्चारमाध्यम तथा अमेरिकामा रहेका संसारका मानिसहरूमाझ चर्चित बनाएको छ ।