काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वहरूलाई पद छोड्न दबाब दिने क्रम अहिले बढ्दो छ । तर, शीर्ष नेताहरू टसमस गरेका छैनन् ।
बरु चुनावी पराजय र आफ्नो असान्दर्भिकतालाई ढाकछोप गर्न वाम एकताको रटान लगाइरहेका छन् । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताहरू यतिबेला नेतृत्व परिवर्तनको बहस छेडिरहेका छन् । कतिपयले त रूपान्तरणको रूपरेखासमेत बनाउन थालिसकेका छन् ।
नाम उल्लेख नगर्ने सर्तमा एकीकृत समाजवादी पृष्ठभूमि भएका नेकपाका दोस्रो तहका एक नेताले कान्तिपुरसँग भन्नुभएको छ- पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, नारायणकाजी श्रेष्ठजस्ता नेतृत्वबाट अब पार्टी चल्दैन । पार्टीमा ठूलै रूपान्तरणको जरुरी छ ।
त्यसो त नेकपामा दोस्रो र तेस्रो तहका नेताहरूसँगै भ्रात्तृ संगठनले पनि नेतृत्वमा पुस्तान्तरणको माग गरिरहेका छन् । नेतृत्व परिवर्तनको खेमामा रहेकाहरूको सक्रियता बढ्न थालिसकेका छन् । जस्तो विशेष महाधिवेशन आयोजना गरेर नेतृत्व फेर्नुपर्ने र ६० प्रतिशत युवा सहभागिता हुनुपर्ने माग गर्दै पार्टीका युवा नेता भुवनसिंह विष्ट अनसन नै बस्नुभएको थियो ।
तर पार्टीका शीर्ष नेताहरू भने चुनावअघि मात्रै २० भन्दा बढी दल र समूहबीच एकीकरण गरेर पार्टी पुनर्गठन गरेकाले अब महाधिवेशनबाटै नीति र नेतृत्वको छिनोफानो गर्ने बताउँछन् । नेतृत्व परिवर्तनको स्वर नेकपामा भन्दा चर्को चाहिँ एमालेमा छ ।
जसमा अघि अघि छन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी खेमाका नेताहरू । उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई र सचिव गोकर्ण विष्टसहित ईश्वर पोखरेल, उषाकिरण तिमिल्सिना, बिन्दा पाण्डेलगायत नेताहरू खुलेरै ओलीको विकल्प खोजिरहेका छन् ।
त्यसो त अध्यक्ष केपी शर्मा ओली पक्षकै नेताहरू पनि सुषुप्तरूपमा नेतृत्व परिवर्तनको बहस बढाइरहेका छन् । यद्यपि, उनीहरू बाहिर बोल्न भने सकिरहेका छैनन् । हामीसँगको कुराकानीमा पनि नाम उल्लेख नगर्ने सर्तमा ओलीका एक अत्यन्तै विश्वासपात्रले ओलीबाट अब पार्टी चल्न नसक्ने जिकिर गर्नुभयो । अरू ओलीकै निरन्तरता चाहिरहेका छन् ।
नेतृत्वको विकल्प खोजी भइरहँदा दुवै वाम एक ठाम आउनुपर्ने भनेर कम्युनिस्ट एकताबारे पनि बहस छेडिएको छ । पार्टी एकीकरण वा सहकार्यको औपचारिक अजेन्डा नबनिसके पनि नेताहरूबीच यही मुद्दालाई लिएर भेटघाट जारी छ । एमालेबाट महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव लेखराज भट्ट र नेकपाबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरूबीच संवाद भइरहेको दुवै पक्षले स्विकारेका छन् ।
यसअघि ओली र दाहालबीच पनि गत वैशाख ४ मा भेट भएको थियो । त्यस क्रममा संविधानको रक्षाका लागि एकै ठाउँमा उभिनसक्ने विकल्पमा छलफल भएको दुवै पक्षको प्रस्टोक्ति छ । एमाले र नेकपा पङ्क्तिमा पनि ओली र दाहाल दुवै कमजोर भएका बेला गठजोड हुनसक्ने आकलन व्याप्त छ ।
दुवै दल एक ठाउँ भएमा दाहाल एकीकृत पार्टीको संसदीय दलको नेता बनेर संवैधानिक परिषद्को सदस्य हुने बाटो खुल्छ भने ओली एकीकृत पार्टीको अध्यक्ष बन्नसक्ने सम्भावना रहन्छ ।