
सुनसरी । सेवाग्राहीको अत्याधिक चाप व्यवस्थापन गर्न इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी र टोकन प्रणाली औपचारिक रूपमा सुरु गरिएको छ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले उक्त प्रणालीको उद्घाटन गरेसँगै इटहरीमा रहेको यातायात व्यवस्था कार्यालयमा अनलाइनमार्फत भुक्तानी र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा टोकन प्रणाली लागू भएको छ।
कोशी प्रदेशमा रहेका यातायत कार्यलयहरु मध्ये इटहरीबाट पहिलो पटक यस्तो डिजिटल प्रणाली सुरु गरिएको हो। यसलाई क्रमशः अन्य जिल्लामा पनि विस्तार गर्ने तयारी छ। नयाँ प्रणाली लागू भएसँगै भीडका कारण लामो लाइनमा बस्नुपर्ने सेवाग्राहीको समस्या अन्त्य हुने विश्वास लिइएको छ।
अनलाइन सेवाबाट सेवाग्राहीले घरबाटै सवारी कर तिर्न सक्नेछन। त्यसलाई भीआरएस प्रणालीसम्म जोड्न भने कार्यलयमै सम्पर्क गर्नुपर्नेछ। यसका लागि कार्यलयले छुट्टै डेक्स स्थापना गरेर सेवा सुरु गरेको छ ।