बाघ गणना सार्वजनिक : बर्दियाबाहेक सबै निकुञ्जमा वृद्धि

विज्ञ भन्छन्– अब व्यवस्थापनमा जोड
श्रावण १३, २०८३ |विकास आचार्य
बाघ गणना सार्वजनिक : बर्दियाबाहेक सबै निकुञ्जमा वृद्धि

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जबाहेक अन्य चारवटै राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको छ । 

बर्दियामा भने अघिल्लो गणनाको तुलनामा बाघको संख्या १३ वटाले घटेको छ । बर्दियामा राष्ट्रिय निकुञ्ज क्षेत्रमा यसपटक बाघको संख्या १ सय १२ पुगेको छ । जबकी चार वर्षअघि मात्रै सो क्षेत्रमा १ सय २५ वटा बाघ थिए । यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १ सय ४५, बाँके राष्ट्रिय निकुञ्जमा ५१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ५० र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ७१ वटा बाघ पुगेका छन् । 

पछिल्लो चार वर्षमा नेपालमा ७४ वटा बाघ थपिएको गणनाले देखाएको छ । योसँगै नेपालमा बाघको संख्या ३ सय ५५ बाट बढेर ४ सय २९ पुगेको छ । बाघ दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बाघ गणनाको नतिजा सार्वजनिक गरिएको हो ।

२०७४ को गणनामा नेपालमा २ सय ३५ बाघ रहेकोमा २०७९ सालमा १ सय २० बाट बढेर ३ सय ५५ पुगेको थियो । यसपटकको गणनामा बाघको बृद्धिदर भने घटेको छ । अघिल्लोपटक झन्डै ५१ प्रतिशतले बढेको बाघको वृद्धिदर यसपटक २१ प्रतिशत मात्रै छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत वर्ष पुस १६ देखि वैशाख १० गतेसम्म करिब ४ महिना लगाएर अत्याधुनिक प्रविधि भएको क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना गरेको थियो । ११ हजारभन्दा बढी क्यामेराले कैद गरेका फोटोका आधारमा बाघको गणना भएको हो । 

यता बाघको आक्रमणमा परि अघिल्लो दुई आर्थिक वर्षमा मात्रै १८ जनाको मृत्यु भएको छ भने ४ सय ३२ पशुचौपायको मृत्यु भएको छ । विज्ञहरुले भने अब बाघको संख्या बढाउनेभन्दा पनि व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

गणनाका क्रममा ३६ वटा बाघ भने संरक्षित क्षेत्रभन्दा बाहिर देखिएका छन् । यो संख्या बर्दिया राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी छ ।

सम्बन्धित समाचार :

विश्व बाघ दिवस : बाघको संख्या तेब्बर, द्वन्द्व नियन्त्रण अझै चुनौती


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।