कारागारको १९ कठ्ठा सरकारी जग्गा अतिक्रमणमा, संरचना हटाउन प्रशासनको निर्देशन

वैशाख ७, २०८३ |रमेश ठाकुर
कारागारको १९ कठ्ठा सरकारी जग्गा अतिक्रमणमा, संरचना हटाउन प्रशासनको निर्देशन

बारा । बाराको कलैया उपमहानगरपालिका ४ मा कारागार कार्यालयको नाममा दर्ता रहेको १९ कठ्ठाभन्दा धेरै सरकारी जग्गा वर्षौंदेखि अतिक्रमणमा परेको छ । 

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम संरचना हटाउन निर्देशन दिएसँगै अब भने अतिक्रमण हट्छ कि भन्ने आशा जागेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ४ को कित्ता नम्बर १०२, १०३ र ४४४ को १९ कठ्ठा साढे १७ धुर जग्गा कारागार कार्यालयको नाममा दर्ता रहेको सरकारी जग्गा हो । 

तर, यो जग्गा लामो समयदेखि अतिक्रमणको चपेटामा परेको छ। केही स्थानीयले दशकौंदेखि अतिक्रमण गरी घरटहरा बनाएर अवैधरूपमा बसोबास गर्दै आएका छन्। कारागार कार्यालयको नाममा दर्ता रहेको यो जग्गाको अतिक्रमण हटाउन विगतमा धेरै प्रयास भए पनि सम्भव भएको छैन ।

कलैया उपमहानगरपालिका ४ स्थित कारागार शाखा कार्यालयको नाममा दर्ता कायम रहेको सरकारी जग्गा प्रयोग गर्ने सम्बन्धमा कुनै सरकारी निकायसँग सम्झौता नगरी आफूखुसी बसोबास तथा संरचना निर्माण गरिएको देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ को उपदफा ६ -क बमोजिम संरचनाहरू हटाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारीको भनाइ छ।

सरकारी अभिलेखअनुसार स्पष्ट रूपमा कारागार कार्यालयको नाममा रहेको उक्त जग्गा फिर्ता गराउने प्रक्रिया अब निर्णायक चरणमा प्रवेश गरेको छ । विगतका प्रयास असफल भएको पृष्ठभूमिमा यसपटक प्रशासन कति दृढतापूर्वक अघि बढ्छ भन्ने प्रश्न महत्वपूर्ण बनेको छ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।