तीव्र गतिमा लाइसेन्स छपाइ : नयाँ क्यूआर कार्डको गुणस्तरमाथि प्रश्न

वैशाख ५, २०८३ |विकास आचार्य
तीव्र गतिमा लाइसेन्स छपाइ : नयाँ क्यूआर कार्डको गुणस्तरमाथि प्रश्न

काठमाडौं । काभ्रेको पनौतीमा रहेको आईटी पार्कमा हाल धमाधम दैनिक ४० हजारदेखि ५० हजारसम्म लाइसेन्स छपाइ जारी छ । 

सरकारले आगामी असार मसान्तभित्र पुराना सबै लाइसेन्स छापेर वितरण गरिसक्ने जिकिर गरेको छ । अर्कोतिर करिब ४ हजार सेवाग्राही जो दैनिक नवीकरण वा नयाँ बनाउनका लागि पुग्छन्, उनीहरूले २४ घन्टाभित्र लाइसेन्स पाउने सरकारको दाबी छ ।

तर, सँगै उत्सुकता पनि भएको छ, एकाएक लाइसेन्स वितरण यति सहज कसरी भयो ? सरकारले पछिल्लो समय दिन खोजेको कार्ड कस्तो हो ? यो हो सरकारले २०८१ फागुन १० अघिसम्म उपलब्ध गराउँदै आएको सवारी चालक अनुमतिपत्र ।

अनि यो चाहिँ फागुन १० मा नियमावली संशोधन भएपछि जारी हुन थालेको लाइसेन्स । अघिल्लो २१ विशेषता भएको चिप जडित हो भने पछिल्लो चाहिँ ३९ विशेषता भएको क्यूआर कोड भएको लाइसेन्स हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ फागुन १० गते सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ लाई संशोधन गरेको थियो ।

नियमावलीको परिच्छेद-४ को २० ‘क’ मा चालक अनुमतिपत्र इलेक्ट्रोनिक स्मार्ट कार्ड वा क्यूआर कोडसहित हुनुपर्ने उल्लेख छ । सोही व्यवस्थालाई टेकेर २०८२ जेठ ९ गते सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच प्रथम चरणको छपाइ असार मसान्तभित्र गरी विभागलाई हस्तान्तरण गर्ने सहमति थियो । तर, उपकरण अभाव र जनशक्ति अपुगलगायत कारण देखाएर मुद्रणले छपाइ गर्न सकेन ।

यसपछि तत्कालीन भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको नेतृत्वमा बसेको विषयगत समितिले असोज मसान्तसम्म अवधि थप गर्‍यो । तर, बीचमै जेन-जी आन्दोलन भयो । पछि अन्तरिम सरकारका सञ्चारमन्त्री जगदीश खरेल काभ्रेको पनौती पुगेर कात्तिक २१ गते नयाँ व्यवस्थाबमोजिमको छपाइ उद्घाटन गर्नुभयो । 

त्यसअघि कात्तिक १२ गते नै ६ महिनाभित्र १२ लाख प्रति लाइसेन्स छाप्ने सम्झौता गर्दै मन्त्री खरेलले ६ महिनाभित्र सबै छपाइ सक्ने दाबी गर्नुभएको थियो । तर, ६ महिना पूरा हुन ७ दिन बाँकी रहँदा हालसम्म ८ लाख प्रति मात्र छापिएको छ ।

सँगै गत शुक्रबार मात्रै वैशाख १३ गतेबाट थप १७ लाख कार्ड असारभित्र छापिसक्ने अर्को सम्झौता भएको छ । यता मुद्रणले पनि दैनिक ४० हजार प्रतिसम्म लाइसेन्स छपाइ गरिरहेको जिकिर गरेको छ । अर्थात् यही गतिमा छपाइ जारी रहे १७ लाख लाइसेन्स छाप्न अब असार पनि कुर्न पर्दैन ।

सँगै यति द्रुत गतिमा लाइसेन्स छपाइ भइरहँदा आम नागरिकले भने गुणस्तरमा शंका गरेका छन् । तर, मुद्रण कार्यालयले भने नयाँ लाइसेन्समा ५ तहको सुरक्षा भएको जनाएको छ । लाइसेन्सवाहकले सतही विवरण देख्नेछन् भने निरीक्षण अधिकारीले उपकरणसहित हेर्दा थप विवरण देख्नेछन् ।

साथै, पुरानोमा अगाडि मात्र सुरक्षा विशेषता रहेकामा नयाँमा भने अगाडि २३ र पछाडि १६ वटा सुरक्षा विशेषता रहेको जनाएको छ । यस्तै नयाँ लाइसेन्सको छपाइ देशभित्रै हुने हुँदा डेटा चुहिने खतरा समाधान भएको मुद्रणको दाबी छ । यस्तै खाले लाइसेन्स हाल विश्वका ७५ देशमा प्रयोग भइरहेको पनि मुद्रणले जनाएको छ ।

सरकारले सवारी चालक अनुमति पत्रको म्याद ५ वर्षबाट १० वर्ष पुर्‍याएको छ । त्यसैले प्रश्न के पनि छ भने यो कार्ड १० वर्ष टिक्ला त ? किनकि कार्ड पातलो भएको, सजिलै दोब्रिने, भाँचिन सक्ने अनि मेटिन सक्ने भन्दै जनगुनासो आउन थालेका छन् । सुरक्षा फिचर बढाएको मुद्रणले यसको दिगोपनलाई पनि ख्याल गर्न आवश्यक छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।