पोखरा । फेवाताल किनारको खपौदीमा जलारी समुदाय बसोबास गर्न थालेको पुस्तौँ भइसक्यो।
तालमा माछा मारेर जीविकोपार्जन गर्दै आएको जलारी समुदाय अहिले भने संकटमा छ। एकातिर माछा पाइन छाडेको छ भने अर्कोतिर बस्दै आएको ठाउँ फेवाताल मापदण्डमा परेपछि विस्थापित हुने चिन्ता छ।
फेवाताल किनारका जलारी समुदायको पेसा नै माछा मारेर बेच्ने हो। पोखरा १८ खपौदीमा बसोबास गरेका यो समुदायका मानिस बेलुका फेवातालमा जाल थाप्छन् भने बिहानै जाल झिकेर सहकारीमा माछा जम्मा गरी दैनिक गुजारा चलाउँछन्। अब भने यो समुदायलाई ठूलो संकट आइपरेको छ।
संघीय सरकारको निर्देशनमा पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटरभित्र बनेका संरचना हटाउन सुरु गरेपछि जलारी समुदायको बास नै उठ्ने चिन्ता त छँदैछ पुर्ख्यौली पेसाबाट विस्थापित हुने संकटसमेत आइलागेको छ।
करिब तीन सय वर्षअघि फेवाताल किनारमा आएको यो समुदाय सुरूमा अस्थायी झुप्रो बनाएर बसेको थियो। पछि उनीहरूले भोगचलनका आधारमा पुस्तौँ पहिले जग्गा दर्ता गरे। केहीले २०३१ सालपछि पनि जग्गा किनेका छन्। फेवातालसँग विशेष सम्बन्ध भएका जलारी समुदायलाई अहिलेको तालको मापदण्डले पिरोलेको छ।
तालको क्षेत्रफल घटनुमा ताल किनारमा बस्नेहरू नभइ विकासका नाममा जथाभावी खनेका मोटरबाटो भएको उनीहरूको बुझाइ छ। बर्खामा बगेर आउने माटो, बालुवा, गेग्रानका कारण ताल पुरिँदै गएको उनीहरू बताउँछन् । जलारीको जीवन फेवातालको पानी र माछामा अडिएको छ।
उनीहरू भन्छन 'हामीलाई सुनैको घर बनाइदिए पनि काम छैन, बरू झुप्रै होस्, फेवाताल नै हाम्रो घर हो।' यो क्षेत्रमा जलारी मात्रै छैनन् फेवापारी थातथलो भएका विभिन्न पेसा व्यवसायका मानिसहरू पनि छन्। सरकारले रैथाने समुदायबारे छुट्टै निर्णय गरेको छैन। तर, लालपूर्जा भएका २०३१ सालअघिका जग्गालाई मुआब्जा दिने बताएको छ।
मुआब्जा दिएर हटाउने कुरा उनीहरूलाई चित्त बुझेको छैन। खपौदी, पामे क्षेत्रमा फेवाकै ताजा माछा खानका लागि दैनिक ठूलो संख्यामा पर्यटक पुग्ने गर्दछन्। खासगरी माछा मार्ने र बेच्ने काम जलारी समुदायले गर्दछन्। उनीहरूले नै खपौदी र पामेलाई रैथाने स्वच्छ माछा पाइने स्थानका रूपमा चिनाएका हुन्। तर, अहिले यही समुदायको बास उठ्न थालेको छ।