
झापा । झापाका चिया बगानमा लुपर क्याटरपिलर रोगको प्रकोप बढेको छ।
जसका कारण झापाको हल्दीबारी गाउँपालिका र भद्रपुर नगरपालिकामा रहेको चियाका बोट नै नष्ट भएका छन्। चियाका बोट नै नष्ट हुँदा ५० प्रतिशत बढी क्षति हुने आकलन गरिएको छ। प्रकोप नियन्त्रण गर्न नसक्ने हो भने चिया फ्याक्ट्री नै बन्द हुने अवस्थामा पुग्ने जोखिमसमेत बढेको छ ।
कहिले निकासी अवरोध त कहिले रासायनिक मल अभाव, कहिले रोगको समस्या झेल्दै आएको छ, चिया क्षेत्रले । याे सिजनमा चियाको फस्ट प्लग- पहिलो टिपाईदेखि नै वर्षात् भएकाले चियाले आम्दानी बढाउला भन्ने आशामा थिए चिया किसान र बगानवाला ।
दोस्रो राउन्ड -दोस्रो टिपाईको सुरुबाट लुपर क्याटपिलर रोग देखा पर्न सुरु गर्यो । गत वर्ष थोरै देखा परेको रोग यस वर्ष बगान सखापै बनायो । लुपर, चियामा सधै लाग्ने सामान्य रोग हो । तर, गत वर्ष ३० प्रतिशत लागेको थियो भने यो वर्ष ५० प्रतिशतको आँकडा पार गरेको अनुमान छ ।
चियाको विकास, प्रवर्द्धन र बजारीकरण गर्ने सरकारी निकाय चिया तथा कफी विकास बाेर्ड हो । बोर्डबाट सहयोग नपाएको सरोकारवालाले बताएका छन् । चिया बगान र किसानको बोर्डसँग समन्वयको अभाव देखिन्छ । चियामा कडाखालको किटनाशक औषधि प्रयोग गरेकाले यो अवस्था आउनु मुख्य कारण भएको बोर्डका कर्मचारी बताउँछन् ।
दोस्रो राउन्डको चिया उच्च गुणस्तरको हुने भएकोले बजारमा मुल्य समेत उच्च हुन्छ । हल्दाबारी र भद्रपुर क्षेत्रको चिया, लुपर क्याटरपिलर किराले बोट नै नष्ट गरिदिएको छ । आम्दानी त घट्ने नै भयो, बोटै मरेर जाने अवस्था छ ।