
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभइ उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव नहुने भन्दै उहाँले नेपालका हिमालय, पवित्र नदीहरू र प्राचीन योग परम्पराहरू विश्वकै लागि अद्वितीय ‘प्रोडक्ट’ हुनसक्ने बताउनुभयो । पश्चिमको बडिमालिका र खप्तडदेखि कर्णालीको रारा, लुम्बिनी, मनाङ र मुस्ताङसम्मका क्षेत्रहरू आत्मिक अनुभूतिका यात्रा गर्ने गन्तव्य भएको उहाँको भनाइ छ ।
नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्र संघको महासभाले वैशाख २ (अप्रिल १५) लाई आरोग्य दिवसको रुपमा मान्यता दिएको छ ।