
रामेछाप । रामेछापको सुनापतिका ७२ घरपरिवार पहिरोको उच्च जोखिममा बस्न बाध्य छन्।
गाउँपालिकाको वडा नम्बर ३ हिलेदेवीस्थित साउने र केउरेनी गाउँमुनि रहेको खानीखोलातर्फ जमिन निरन्तर सरिरहेकोले स्थानीय त्रासकैबीच बसोबास गरिरहेका छन्।
साउने-केउरेनी क्षेत्रमा २०३५ सालमै ठूलो पहिरो गएको थियो। त्यसबेला बस्ती स्थानान्तरण गरिए पनि पहिरो रोकिएपछि स्थानीय फेरि फर्किएर बस्न थालेका थिए। तर, पछिल्ला वर्षहरूमा परेको अविरल वर्षाले अवस्था झन् भयावह बनाएको स्थानीयको गुनासो छ।
जमिन कमजोर रहेकै कारण केही घर भत्किइसकेका छन् भने धेरै घर चर्किएर बस्नै नसकिने अवस्थामा पुगेका छन्। विकल्प नहुँदा कतिपय चर्किएकै घरमा समेत बसिरहेका छन्।