
चितवन । गृहमन्त्री सुधन गुरूङले आइतबार चितवनका विभिन्न ठाउँको निरीक्षण र अवलोकन गर्नुभएकाे छ ।
मुख्यगरी राजमार्गमा देखिएका समस्याहरूलाई छिटो हल गर्ने उद्देश्यसहित शनिबार राति चितवन आइपुग्नुभएका गृहमन्त्री गुरूङ राति नै नारायणगढ-मुग्लिन सडक खण्डमा धेरै पहिरोले समस्या निम्त्याउने घोप्टेभिर, तुईन खोलालगायतको क्षेत्रको स्थलगत अवलोकन गर्दै वर्षायाममा पुरानै समस्या नदोहोरिने गरी छिटो काम गर्न निर्देशन दिनुभएकाे थियाे ।
विपद्जन्य घटनाले लामो समय नै मुख्य राजमार्ग बन्द हुँदा समस्या भोग्दै आउनु परेकाले त्यसलाई रोक्न गृहमन्त्री गुरूङको चासो थियो । भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा रात बिताएका गृहमन्त्री गुरूङले यहाँको सुरक्षाको बारेमा प्रदेश र जिल्लाका सुरक्षा निकायसँग जानकारी लिनुभएकाे थियाे ।
चितवनका सुरक्षा निकायलाई सुशासन कायम गर्न, लागूऔषधलगायतका घटनामा निर्मम ढंगले कारबाही प्रक्रिया अघि बढाउन, जनतालाई चुस्तदुरूस्त सेवा दिने विषयमा गृहमन्त्रीले निर्देशन दिनुभएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयाे ।
गृहमन्त्री गुरूङले बाटोमा विभिन्न व्यक्तिहरूसँग भेटघाटसँगै आफू एसएलसी उत्तीर्ण गरेको विद्यालय भरतपुर-२६, ज्योतिनगरस्थित कालिका संस्कारकुलम सेकेण्डरी स्कुल पुग्नुभएकाे थियाे । त्यहाँ शिक्षक र स्थानीयहरूले स्वागत गरेका थिए । गृहमन्त्री गुरूङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेको सचिवालय समेत केहीबेर पुगेर पार्टीका नेताहरूसँग भेटघाट गर्नुभयाे ।
गृहमन्त्री गुरूङ पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक खण्डको निरीक्षण गर्न नवलपरासी पूर्व प्रस्थान गर्नुभएकाे छ ।