
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ।
सरकार गठनको १५औँ दिनमा प्रधानमन्त्री शाहले रामजी यादवलाई श्रम रोजागार तथा सामाजिक र गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहबीच दुई नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको सपथ दिलाउनुभएकाे हाे ।
इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा आएका नवनियुक्ति श्रममन्त्री यादव सप्तरीको राजविराजका हुनुहुन्छ । बिहीबार मात्रै प्रधानमन्त्री शाहले दीपक साहलाई श्रम, रोजागार तथा सामाजिकमन्त्रीबाट बर्खास्त गर्नुभएको थियो । शुक्रबार सो जिम्मेवारी रामजी यादवलाई दिइएको हो । प्राविधिक ज्ञान, सामाजिक कार्य र मधेश आन्दोलनको अनुभव मिसिएका ३० वर्षीय युवा मन्त्री यादव हालै सम्पन्न निर्वाचनमा सप्तरी- २ बाट निर्वाचित रास्वपाका सांसद हुनुहुन्छ।
इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक यादव नवीकरणीय ऊर्जा, कार्बन क्रेडिट र सार्वजनिक खरिद सुधारजस्ता विषयका विज्ञका रूपमा चिनिनु हुन्छ । प्रधानमन्त्री शाहले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा भने गौरीकुमारी यादवलाई नियुक्त हुनुभएको छ । उद्योगमन्त्री यादव महोत्तरी-४ बाट रास्वपाबाट निर्वाचित सांसद हुनुहुन्छ।
विज्ञानमा प्रमाण–पत्र तहसम्म अध्ययन गरेकी यादवले शिक्षा र सामाजिक चेतनालाई सार्वजनिक जीवनको आधार बनाउँदै आउनुभएको छ। महिला सशक्तीकरण, सुशासन र सामाजिक सुधारका मुद्दालाई निरन्तर उठाउँदै आएकी यादव वैकल्पिक राजनीति र पारदर्शीताको नारासहित राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध हुनुभएको हो।
मधेशमा पार्टी संगठन अझै विस्तारकै चरणमा रहेको अवस्थामा पनि उहाँले जनतासँग प्रत्यक्ष संवाद, भेटघाट र घरदैलो अभियानमार्फत आफ्नो पहिचान निर्माण गर्नुभएको हो। ५४ वर्षीय यादवको जन्मस्थान महोत्तरीको साम्सी गाउँपालिका–संग्रामपुर हो ।