
काठमाडौं । नेकपा एमालेकी सांसद सम्झना देवकोटाले बजारमा ग्यास पाउन नै मुस्किल बन्न थालेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा उहाँले बजारमा धेरै ग्यास कम्पनीहरू भए पनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले ग्यास पाए पनि कम्पनीहरूले अर्को कम्पनीको सिलिन्डर साटासाट गर्न नमानेको बताउनु भयो ।
केही साटे पनि अतिरिक्त पाँच सय रूपैयाँ शुल्क बुझाउनुपर्ने हुँदा उपभोक्ता थप पीडित भएको उहाँको भनाइ छ । ग्यास कम्पनीहरूबीच समन्वय गरी उपभोक्तालाई अतिरिक्त शुल्क बिना सहज रूपमा सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन उहाँले सरकारसँग माग गर्नुभयो ।
पश्चिम एसियाको द्वन्द्वले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा भएको वृद्धिले नेपालमा महँगी चुलिएको बताउनुभयो । दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दा सर्वसाधारणको भान्सा प्रभावित भएको र न्यून तथा मध्यम आय भएका परिवार प्रत्यक्ष मारमा परेको उहाँको भनाइ छ ।
उहाँले पश्चिम एसियामा रहेका नेपालीहरूको जीवन जोखिममा परेको उल्लेख गर्दै उनीहरूको सुरक्षाका लागि आवश्यक कूटनीतिक पहललाई गर्न पनि सरकारसंग माग गर्नुभयो ।