
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सुस्वास्थ्य र सहानुभूति बिना न्याय प्रणाली टिक्न नसक्ने बताउनुभएको छ।
काठमाडौँ जिल्ला अदालत बार एसोसिएसन महिला समितिले आयोजना गरेको “जीवन रूपान्तरण तथा सकारात्मक सोच” सम्बन्धी प्रशिक्षण कार्यक्रममा उहाँले स्वस्थ वकिलले मात्र स्वस्थ न्याय प्रदान गर्न सक्ने बताउनुभएको हो । अधिवक्ताहरूलाई आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न पनि उहाँले आग्रह गर्नुभयो।
अन्तर्राष्ट्रिय बारको अध्ययनअनुसार विश्वभर करिब २८ प्रतिशत अधिवक्ताहरू डिप्रेसनबाट ग्रसित रहेका र करिब १९ प्रतिशतमा गम्भीर प्रकारको डिप्रेसन देखिएको तथ्यांक प्रस्तुत गर्दै कामु प्रधानन्यायाधीश मल्लले सकारात्मक सोच र सुस्वास्थ्य अत्यावश्यक भएकोमा जोड दिनुभयो।
पीडितहरू सबै विकल्प समाप्त भएपछि मात्र अदालत पुग्ने बताउँदै उहाँले पीडाको अन्त्य गर्नु गहिरो मानवीय जिम्मेवारी भएकोले यो कार्य सुस्वास्थ्य र सहानुभूति बिना सम्भव नहुने स्पष्ट पार्नुभयो। अधिवक्ताहरूका लागि लक्षित जीवन रूपान्तरण प्रशिक्षण प्रशिक्षक नरबहादुर कार्कीले सञ्चालन गर्नुभएको थियो।
दैनिक भागदौड र अदालती व्यस्तताबीच यस्ता प्रशिक्षण कार्यक्रमले ऊर्जा र स्फूर्ति प्रदान गरेको सहभागी अधिवक्ताहरूले बताएका छन्।