
दाङ । लुम्बिनी प्रदेश सभाको मंगलबार बसेको सातौं अधिवेशनको सातौं बैठकमा प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस भएको छ ।
बैठकमा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो । उक्त प्रस्तावमाथि छलफलमा भाग लिँदै सदस्य प्रदेशसभा सदस्यहरूले वन क्षेत्र रोजगारी सिर्जनाको महत्वपूर्ण स्रोत भएकाले यसलाई थप व्यवस्थित बनाउनुपर्ने, वन पैदावारको चोरी निकासीमा कडारूपमा प्रस्तुत हुनु पर्ने र वैज्ञानिक वन व्यवस्थापनमा जोड दिनुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।
छलफलमा उठेका प्रश्नहरूको जवाफ वन तथा वातावरण मन्त्री कलवारले दिनुभएको थियो । बैठकको विशेष समस्यमा बोल्दै प्रदेशसभा सदस्यहरूले धेरै विकास योजना अलपत्र परेको, सामाजिक विकास डिभिजनअन्तर्गतका विद्यालय भवन निर्माण रोकिएको र मन्त्रालयमा पटक पटक पहल गर्दा पनि बजेट विनियोजन नभएको, बजेटका कमजोरी सच्याउने, काम नगर्ने कर्मचारीलाई हटाउनुपर्ने र सरकारको कार्यशैली परिवर्तन गर्न आवश्यक रहेको धारणा राखेका थिए ।
प्रदेश सभाको आगामी आठौं बैठक चैत २५ गते बस्ने जानकारी दिइएको छ ।