
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद डा. अर्जुनकुमार कार्कीले हिमाली तथा दुर्गम क्षेत्र विकास प्राधिकरण गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलबार संघीय संसद प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद कार्कीले हिमाली तथा पहाडी क्षेत्रमा गाउँगाउँमा उद्योग र घरघरमा रोजगारी सिर्जना गर्नका लागि सो प्राधिकरण तत्काल स्थापना गर्न आवश्यक रहेको तर्क समेत गर्नुभयो ।
उहाँले नेपालमा हिमाली तथा पहाडी क्षेत्रको विकासमा कृषि, पर्यटन र जडिबुटी विकासको ठूलो सम्भावना बोकेको सम्पदा भएको उल्लेख गर्दै सरकारले त्यसलाई परिचालन गर्ने गरी विकास आयोजनाहरूको कामलाई अघि बढाउन अति आवश्यक भएको पनि स्पष्ट पार्नुभयो ।
सांसद कार्कीले जनता रोजगारीको अभावमा रहेकाले पनि सरकारले सो कुरालाई ध्यानमा राखेर मुलुकको स्रोत तथा साधन परिचालन गर्नुपर्ने बताउनु भयो ।