
सिन्धुपाल्चोक । जिल्लाको कोदारीस्थित इको क्षेत्रको ठूलो पहिरो नियन्त्रणका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।
नेपाल-चीन अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अरनिको राजमार्गमा पर्ने इको क्षेत्रमा पहिरो नियन्त्रणका लागि चिनियाँ सहयोग प्राप्त भएको हो । चिनियाँ प्राविधिक टोलीले ड्रोनमार्फत पहिरो क्षेत्रको अवस्थाबारे अध्ययन गरिसकेको छ । चिनियाँ अनुदानमा पहिरो नियन्त्रणको काम केही दिनभित्रै सुरू हुने निश्चित भएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायण भण्डारीले जानकारी दिनुभएको छ ।
हालसम्म नेपाली ठेकेदारले गरेको प्रगतिको मूल्यांकन गरी भुक्तानी गर्ने र त्यसपछि चिनियाँ ठेकेदार कम्पनीले थप काम अघि बढाउने योजना छ । नाका सञ्चालनमा रहे पनि सडक अवरूद्ध हुँदा व्यवसायीले ठूलो नोक्सानी बेहोर्दै आएका छन् । पहिरोभन्दा माथि १ सय ७५ घरपरिवार बसोबास गर्दै आएका छन् भने पहिरोमुनि बग्ने भोटेकोशी नदीले प्रत्येक वर्ष कटान गर्दै जोखिम थप्ने गरेको छ ।
बस्ती जोगाउँदै काम अघि बढाउनुपर्ने भएकाले चिनियाँ पक्षसँग समन्वय गरी योजना कार्यान्वयन गरिने भोटेकोशी गाउँपालिकाका २ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।