बाँकेमा कुपोषण बढ्दो : पाँच पालिकामा २३३ बालबालिका गम्भीर अवस्थामा

चैत्र २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाँकेमा कुपोषण बढ्दो : पाँच पालिकामा २३३ बालबालिका गम्भीर अवस्थामा

बाँके । बाँकेमा बालबालिकामा कुपोषणको समस्या गम्भीर देखिएको छ। 

पाँच स्थानीय तहमा छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा गरिएको स्क्रिनिङ्गबाट २ सय ३३ जना बालबालिकामा कडा कुपोषण फेला परेको हो । स्वास्थ्य कार्यालय बाँकेले पाँच स्थानीय तहमा गरेको स्क्रिनिङ्गमा २१ हजार ५ सय ४९ बालबालिकामध्ये २ सय ३३ जनामा कडा कुपोषण देखिएको छ। 

राप्तीसोनारीमा ३१, बैजनाथमा ४४, खजुरामा ३२, जानकीमा ३६ र डुडुवामा सबैभन्दा बढी ९० जना बालबालिका कुपोषित भेटिएका छन्। त्यस्तै नरैनापुर गाउँपालिका, कोहलपुर नगरपालिका, र नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा स्क्रिनिङ्ग अभियान विस्तार गरिने जनाइएको छ। 

मध्यम कुपोषणको अवस्था झनै चिन्ताजनक छ। पाँच पालिकामा १ हजार १ सय ५ बालबालिकाहरू मध्यम कुपोषणबाट प्रभावित रहेका छन्। तथ्यांकअनुसार बाँकेमा कुपोषण बढ्दो क्रममा छ। आर्थिक वर्ष २०८०/८१ मा ४ सय ४२ र २०८१/८२ मा ५ सय ५८ बालबालिकामा कडा कुपोषण देखिएको थियो । 

समग्रमा चालु आर्थिक वर्षको आठ महिनामै ३ सय २८ बालबालिकामा कडा कुपोषण भेटिइसकेको छ। कुपोषणको समस्या न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना आवश्यक रहेको सरोकारवालाले बताएका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.