
नुवाकाेट । रसुवाको ग्रामीण क्षेत्रमा बाख्रापालन व्यवसाय फस्टाउँदा स्थानीयको आयआर्जनको भरपर्दो माध्यम बनेको छ ।
उत्तरगया, कालिका तथा आमाछोदिङलगायत पालिकाका विभिन्न वडामा परम्परागतरूपमा गरिँदै आएको बाख्रापालनले व्यासायिक रूप लिँदै गएको हो । निर्वाहमुखी कृषि र पशुपालन राष्टिय कृषि आधुनिकीकरण परियोजनासँस जोडिएसँगै रसुवामा बाख्रापालनले व्यावसायिक रूप लिएको हो ।
परियोजनाले बाख्राजोन कार्यक्रम सञ्चालन गरेर व्यवसायिकतातर्फ लगाएसँगै किसानले ४ वाषिक लाख रूपैयाँसम्म आम्दानी लिन सफल भएका छन् । आर्थिक वर्ष २०७८ र ०७९ देखि रसुवामा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा जोन कार्यक्रम सुरू भएको हो ।
जसअन्तर्गत जिल्लाका पाँचैवटा पालिकाका १७ वटा वडामा अहिले बाख्राजोन कार्यक्रम सञ्चालन भइरहेको छ । जसले बाख्राको खोर निर्माण तथा सुधार र पालनपोषणको लागि आवश्यक घाँसको बीउदेखि यान्त्रिकीरणसमेतमा ५० प्रतिशत अनुदान दिँदै आएको छ ।
रसुवामा बाख्रापालनको दिगो विकास र निरन्तरताका १४ कृषक समूह र ७ कृषि सहकारीसहित १ सय ३६ कृषि फर्मलाई सूचीकृत गरिएको परियोजनाले जनाएको छ । जसले नश्ल सुधार तथा उत्पादन वृद्धिसँगै भेडा, बाख्रा र घाँसको स्रोत केन्द्र स्थापना गरि बाख्रापालनलाई रोजगार प्रवर्द्धनको माध्यम बनाउने लक्ष्य छ ।