काठमाडौं । इन्धन संकट चुलिँदै गएको अवस्थामा नेपाल सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने अस्थायी निर्णय कार्यान्वयनमा ल्याएको छ।
यस कदमले कर्मचारीहरूको कार्यक्षमता, पारिवारिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास छ। पश्चिम एसिया द्वन्द्वका कारण इन्धनको आपूर्ति शृंखला बिथोलिँदा विश्वभर संकटको स्थिति छ । पेट्रोलियम पदार्थमा देखिएको यही असहजतालाई व्यवस्थापन गर्न भन्दै सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा थपेको छ ।
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले कर्मचारीहरूको कार्यक्षमता बढाउने भन्दै स्वागत भइरहेको छ । तर, एकातिर यो निर्णयलाई सकारात्मक मानिँदै गर्दा अर्कोतिर भने यसले बिदाको संख्या बढाउने र सेवाप्रवाहमा असर पर्ने बहस भइरहेको छ ।
गृह मन्त्रालयका अनुसार २०८३ सालमा नेपालमा ३५ दिन सार्वजनिक बिदा रहेको छ । यस्तै तीज, जितिया, गाईजात्रा र इन्द्रजात्राजस्ता पर्वका कारण थप १५ दिनसम्म क्षेत्रीय वा समुदायविशेष बिदा छ । यसमा शनिबार र इन्धन संकटको अल्पकालीन समाधानस्वरूप थपिएको आइतबारको बिदा वर्षैभरि हुने अनुमान गर्दा ८३ सालमा कुल सार्वजनिक बिदाको संख्या १५४ दिन हुन आउँछ ।
यो भनेको एक वर्षमा करिब ४२ प्रतिशत समय बिदामा सकिनु हो । यति धेरै बिदाले देशको सार्वजनिक सेवा प्रवाहलाई असर गर्दैन ? कामको चाङ बढ्ने र सेवाग्राहीले लामो पालो पर्खनुपर्ने समस्या आउँदैन ? यस्तै प्रश्नहरू उठेका छन् । तर, जानकारहरू भने अन्य बिदा पुनरावलोकन गर्दै साप्ताहिक दुई दिने बिदा प्रणालीलाई स्थायी रूपमा लागु गर्न सकिए थप प्रभावकारी हुने अनुमान गर्छन् ।
३५ दिनसहित विश्वमै सबैभन्दा बढी सार्वजनिक बिदा नेपालमै हुने गरेको छ । यस्तै भारत, कोलम्बिया तथा फिलिपिन्स १८ दिनसहित सबैभन्दा बढी सार्वजनिक बिदा हुने मुलुक हुन् । साप्ताहिकबाहेक बेलायत, क्यानडालगायत देशमा वार्षिक सार्वजनिक बिदा १० दिनभन्दा पनि कम हुन्छ ।
यस्तै अमेरिकामा १२, फ्रान्समा ११, डेनमार्कमा ९ तथा चीनमा ७ दिन सार्वजनिक बिदा हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको छ । सर्सर्ती हेर्दा विकसित देशहरूमा सार्वजनिक बिदाको अवधि कम छ भने तुलनात्मक रूपमा अल्पविकसित देशहरूमा सार्वजनिक बिदा बढी छ ।
नेपालमा यसअघि पनि आर्थिक गतिविधि चलायमान हुने भन्दै साप्ताहिक बिदा दुई दिन दिन थालिएको थियो । तर, पर्याप्त तयारी अभाव र सेवा प्रवाहमा असर परेको भन्दै आलोचना भएपछि फिर्ता लिइयो । यसपटक भने अन्य बिदा पुनरावलोकन गर्दै व्यवस्थित तयारीका साथ शनिबार र आइतबारको बिदा कार्यान्वयन गरिएमा दीर्घकालीन रूपमा यो सफल हुने तर्क जानकारहरूको छ ।