पाल्पाको अमरनारायण मन्दिर परिसरको फूलबारी सात वर्षदेखि अलपत्र

४ करोड खर्चेर बनाइएका भौतिक संरचना पनि प्रयोगविहीन
चैत्र २३, २०८२ |माधव अर्याल
पाल्पाको अमरनारायण मन्दिर परिसरको फूलबारी सात वर्षदेखि अलपत्र

पाल्पा । पाल्पाको तानसेन नगरपालिका २ स्थित अमरनारायण मन्दिर परिसरको फूलबारी मर्मतसम्भार र संरक्षण नहुँदा सात वर्षदेखि अलपत्र छ। 

करिब ४ करोड खर्च भएको भौतिक संरचना अहिले कामै नलाग्ने अवस्थामा छ। वर्षौदेखि अलपत्र हुँदा अमरनारायण मन्दिर क्षेत्रको ऐतिहासिक र पुरातात्विक अस्तित्व नै संकटमा परेको छ। विश्व बैंकको ऋण सहयोगमा १० वर्षअघि झन्डै ४ करोड खर्चेर तानसेन नगरपालिकाले अमरनारायण फूलबारी क्षेत्रको सौन्दर्यकरण गरेको हो। 

पुनः निर्माणको काम भए पनि परामर्शदाता र निर्माण कम्पनीको लापरबाहीले मन्दिरको पुरातात्विक महत्वको ख्याल गरिएन। काम गुणस्तरहीन भएको गुनासो स्थानीयले निर्माणकै क्रममा गरेका थिए। अख्तियारमा मुद्दा परेपछि वर्षौसम्म काम रोकियो। मुद्दाको छिनोफोनोपछि काम त सम्पन्न भयो तर फूलबारीको फेरि मर्मत सम्भार नभएपछि अलपत्र बन्यो। 

ऐतिहासिक ढुंगे पर्खाल तथा अन्य संरचना निर्माणमा लापरबाही भएको स्थानीयको गुनासो छ। तानसेन नगरपालिकाले निर्माण व्यवसायीको काममा निगरानी नगर्दा मन्दिर परिसरमा बनेको पार्कमा बनेका संरचना दुई वर्ष पनि टिकेनन्। 

मन्दिर क्षेत्रमा पार्क, बालउद्यान, विवाहमण्डप, पुरातात्विक पर्खालमर्मत, पौवा, 'सूभिनियर' पसल, सार्वजनिक शौचालय, शिवमन्दिर, नागपोखरी मर्मतलगायतका काम गर्नुपर्ने योजनामा थियो । तर, बजेट र योजनाअनुसार काम नभएको दाबी स्थानीयको छ।

अख्तियारमा मुद्दा परेपछि निर्माण कम्पनीले सात वर्षसम्म पूरै भुक्तानी पाउन सकेन। काममा लापरबाही भएको, लगत स्टिमेटअनुसारको काम नगरेको लगायतका कारण भुक्तानी रोकिएको थियो। अख्तियारको मुद्दाबाट निर्माण व्यवसायीले सफाइ पाए पनि फूलबारीमा बनेका संरचना भने तानसेन नगरपालिकाले मर्मतसम्भार नगर्दा वडा तथा स्थानीयले उपभोग गर्न पाएका छैनन्।

१८६३ सालमा अमरसिंह थापाले निर्माण गरेको अमरनारायण मन्दिर प्यागोडा शैलीमा बनेको छ। मन्दिर परिसरलाई ऐतिहासिक, सांस्कृतिक र धार्मिक हिसाबले व्यवस्थित गर्नसके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नसक्छ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।