
पाेखरा । सरकारले ६५ मिटरभित्र बनेका अस्थायी संरचना हटाउन डोजर चलाउन थालेपछि फेवाताल किनारका स्थानीय आन्दोलित भएका छन् ।
संघ सरकारको निर्देशनमा पोखरा महानगरपालिकाले शनिबार ३० भन्दा बढी संरचनामाथि डोजर चलाएपछि स्थानिय आन्दोलित भएका हुन् । लेकसाइड गैराको चौतारामा भेला भएका स्थानीयले केहीबेर नाराबाजीसमेत गरेका थिए । विरोधमा उत्रिनेहरू जग्गाधनी र व्यवसायीहरू छन् ।
उनीहरूले प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मालाई ज्ञापनपत्र समेत बुझाएका छन् । तालको ६५ मिटर क्षेत्रभित्र पर्ने अस्थायी संरचना हटाउन सरकारलाई सर्वोच्च अदालतले यसअघि नै निर्देशन दिएको थियो । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको सय दिने कार्यसूचीमा पनि फेवातालको अतिक्रमित संरचना हटाएर संरक्षण गरिने उल्लेख गरिएको थियो ।
सोहीअनुरूप शनिबारदेखि पोखरा महानगरपालिकाले सुरक्षा निकायको सहयोगमा संरचना भत्काउन थालेको हो । शनिबार बिहानै साढे चार बजेदेखि नै प्रहरी परिचालन गरी झन्डै ३० वटा संरचना भत्काइएको थियो । पोखरा महानगरले यसअघि पनि पटक पटक फेवा किनारमा बनेका अस्थायी संरचनामाथि यसैगरी डोजर चलाउँदै आएको छ ।
पछिल्लो समय सर्वोच्चको आदेशपछि प्रदेश सरकारसँगको समन्वयमा ताल किनारमा पोल गाड्ने काम सकिएको छ । अहिले ६५ मिटरको सीमाना छुट्याउने काम चलिरहेको छ । बुधबार मात्रै पोखरा महानगरले हालसम्म भएको प्रगति विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाएको छ ।