सभामुखमा पछि हटेका प्रतिपक्षी दलहरू उपसभामुखका लागि भने हानाथापमा

चैत्र २१, २०८२ |अञ्जना लामिछाने
सभामुखमा पछि हटेका प्रतिपक्षी दलहरू उपसभामुखका लागि भने हानाथापमा

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल निर्विरोध चयन हुनुभएसँगै उपसभामुख कुन दलको भागमा पर्छ भन्ने अहिले चर्चाको विषय बनेको छ । 

उपसभामुख पद कार्यकारी नभए पनि संवैधानिक परिषद्‌मा सदस्य हुने भएकाले यो पदमा दलहरूको रुचि हुने गरेको छ । सभामुख निर्विरोध चयन गरेका राजनीतिक दलहरूले उपसभामुख पदलाई लिएर के दाउपेच गर्दै छन् त ?

संसद्को सर्वोच्च पद सभामुखमा प्रायः प्रतिस्पर्धा नहुने र निर्विरोध चयन हुने विगतका अभ्यास छ । यद्यपि अघिल्लोपटक भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने पराजित गर्दै एमालेका देवराज घिमिरे सभामुख निर्वाचित हुनुभएको थियो ।

यसपटक भने निर्वाचन हुने भन्दाभन्दै अन्तिममा कांग्रेस र एमालेपछि हट्दा सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभयो । कतिपयले यसलाई संसदीय परम्पराको निरन्तरता भनेका छन् भने कतिपयले चाहिँ बलियो सत्तापक्षसामु प्रतिपक्षीले देखाएको निरीहता भनेका छन् । 

कतिपयले चाहिँ कांग्रेस, एमालेलगायतका प्रतिपक्षीले उपसभामुख पदका लागि गरेको बार्गेनिङ हुनसक्ने शंका गरेका छन् । संसद्‌मा सभामुखको जति कार्यकारी भूमिका उपसभामुखको हुँदैन । तर, सभामुख नभएको अवस्थामा उपसभामुखले संसद् बैठकको नेतृत्व गर्न सक्नेछन् । 

यस्तै संवैधानिक परिषद्‌को सदस्य हुने र संवैधानिक नियुक्तिहरूमा भूमिका रहने भएकाले पनि उपसभामुख पदमा दलहरूको हानाथाप हुने गरेको छ । संवैधानिक प्रावधानमा एउटै दलको सभामुख र उपसभामुख हुने व्यवस्था छैन र यी पदमा फरक फरक लिंगको व्यक्ति हुनु अनिवार्य छ । 

यही कारण रास्वपाले अब कुन दललाई उपसभामुख दिएर राजनीतिक सहकार्य गर्छ भन्ने विषय चासोपूर्वक हेर्न थालिएको छ । रास्वपाले भने उपसभामुखको विषयमा अहिलेसम्म कुनै निष्कर्षमा पुगिनसकेको जनाएको छ । यता कांग्रेसले भने संसदीय अंकगणितका कारण सभामुखमा दाबी नगरेको तर उपसभामुखमा भने दाबी रहने जनाएको छ ।

कांग्रेसले दाबी गर्ने भने पनि रास्वपा उसलाई सघाउने पक्षमा छैन । बरु पुरानो दल कुनैलाई पनि उपसभामुख नदिने रास्वपाको मनस्थिति छ । संवैधानिक नियुक्तिहरूमा प्रभाव राख्न पाइने भएकाले रास्वपा उसले भनेको मान्ने दललाई यो पद दिने पक्षमा छ ।

अझ रास्वपाको जोड त श्रम संस्कृति पार्टीलाई उपसभामुख दिएर संसद्‌मा दुईतिहाइ बहुमत पुर्‍याउनेतिर छ । तर रास्वपाले छलफल भने सबै दलसँग गरिरहेको छ । शनिबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीसँग उसले छलफल गरेको थियो । यस्तै श्रम संस्कृतिसँग पनि रास्वपाले एक चरण वार्ता गरिसकेको छ । यद्यपि, उपसभामुख पाइहाले पनि विपक्षी मोर्चामै बस्ने श्रम संस्कृतिको तयारी छ ।

उपसभामुख पदका लागि रास्वपाले कानुनमा भएको छिद्रलाई पनि प्रयोग गर्ने अवस्था आउनसक्छ । कुनै पनि दलले उपसभामुखमा उम्मेदवारी नदिए रास्वपाले सभामुखसँगै उपसभामुख पद आफैँसँग राख्न पाउँछ । यद्यपि सुशासनको मुद्दा बोकेर जनअनुमोदित भएको दलले छिद्रमा खेल्छ कि विधिमा टेक्छ, यसका लागि केही दिन पर्खनै पर्छ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।