घट्दो क्षेत्रफलबीच सल्यानको कुपिण्डे ताल जोगाउन गुरुयोजना कार्यान्वयन

वैशाख २३, २०८३ |सरिता चलाउने
घट्दो क्षेत्रफलबीच सल्यानको कुपिण्डे ताल जोगाउन गुरुयोजना कार्यान्वयन

सल्यान । सल्यानको कुपिण्डे तालमा अहिले संरक्षण र पूर्वाधार विकासको काम भइरहेको छ । 

नगरपालिकाले गुरूयोजना बनाएर विभिन्न संरचना बनाइरहेको हो । डिभिजन वन कार्यालयमार्फत काम भइरहेको छ । शान्त वातावरण, हरियाल डाँडाकाँडा र बीचमा फैलिएको सुन्दर ताल-कुपिण्डे अहिले पर्यटकहरूको रोजाइ बन्दै गएको छ । 

फोटो खिँच्न, टिकटक भिडियो बनाउन र प्रकृतिसँग रमाउन यहाँ दैनिकजसो पर्यटक पुग्ने गरेका छन् । यसलाई सरकारले घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । संरक्षण र व्यवस्थापनको अभावमा तालको क्षेत्रफल भने बर्षेनि घट्दै गएको छ । 

यसले स्थानीय र सरोकारवालालाई चिन्तित बनाएको छ । ताल संरक्षण र व्यवस्थापनका लागि यस वर्ष विभिन्न योजना सुरु भएका छन् । नगरपालिकाले बनाएको गुरुयोजनालाई आधार मानेर डिभिजन वन कार्यालयमार्फत काम भइरहेको छ ।

संघीय सरकारको विशेष अनुदानमार्फत बहुवर्षिय योजनाअनुसार ७ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ । यस्तै नगरपालिकाको गुरुयोजनामा ५ वर्षे कार्याक्रमअन्तर्गत २० करोडको काम हुँदैछ । ताल वरिपरि पदमार्ग निर्माण, आधुनिक मन्दिरलगायतका संरचना विकास गरिनेछ । 

साथै तालसम्म सवारीसाधन लैजान रोक लगाइ सुरक्षितरूपमा घुम्न रेलिङ निर्माण गर्ने योजना छ । गुरुयोजनाअनुसार हाल ताल वरपर पूर्वाधार निर्माणको काम तीव्र छ । ताल क्षेत्रको संरक्षण, खोला खोल्सामा तारजाली लगाउने र पहिरो नियन्त्रण गर्ने काम भइरहेको छ । 

यस्तै ताल क्षेत्रको दिगो विकासमा जोड दिइएको छ । यी सबै कामहरू सम्पन्न भएपछि कुपिण्डे ताल अझ आकर्षक, सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ । बढ्दो आन्तरिक पर्यटनसँगै कुपिण्डे तालको संरक्षण र व्यवस्थित विकासको आवश्यकता महसुस गरेरै नगरपालिकाले गुरुयोजना बनाएको हो । 

तालको क्षेत्रफल घटिरहेको चुनौतीका बीच सुरु गरिएको गुरुयोजनाले यसको दिगो भविष्य सुनिश्चित गर्ने विश्वास गरिएको छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।