
धनकुटा । जिल्ला विपद् व्यवस्थापन समिति धनकुटाले सल्लेरी राष्ट्रिय वन, कोशी राजमार्गअन्तर्गत धनकुटा–हिले खण्ड, सरकारी कार्यालय परिसर तथा आवासीय क्षेत्रमा रहेका ५ सय ३१ वटा जोखिमयुक्त रूख हटाउने निर्णय गरेको छ ।
डिभिजन वन कार्यालय धनकुटाले पहिचान गरी लगत तयार पारेका जोखिमयुक्त रूखहरू सल्लेरी राष्ट्रिय वन, कोशी राजमार्ग आसपास, नेपाली सेनाको भीमदल गण, २ नम्बर बाहिनी अड्डा हिले, जिल्ला आयुर्वेद उपचार केन्द्र तथा लोकसेवा आयोगलगायत क्षेत्रमा रहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले वन क्षेत्रभन्दा बाहिर चौतारा, बिसौना, सडक किनार, पानीका मुहान, धार्मिक स्थल तथा अन्य सार्वजनिक स्थानमा रहेका जोखिमयुक्त रूख तत्काल नहटाए जनधनको क्षति हुन सक्ने भएकाले नियमअनुसार हटाउने निर्णय गरिएको बताउनु भयो ।
जोखिमयुक्त अवस्थाका रूख नहटाइए सल्लेरी राष्ट्रिय वन, कोशी राजमार्गको धनकुटा-हिले खण्ड, वनक्षेत्र छेउमा रहेका सरकारी कार्यालय तथा निजी आवासीय घर भवनमा क्षति पुग्नसक्ने भन्दै जोखिम अवस्थाका कारण रूख हटाउनु पर्ने माग उठिरहेको थियो ।
वन क्षेत्र बाहिरका सरकारी तथा संस्थागत परिसरमा रहेका जोखिमयुक्त रूख हटाउन वन सेवाका प्राविधिकबाट मूल्याङ्कन गराइ सम्बन्धित कार्यालय प्रमुखको संयोजकत्वमा स्थानीय तह र नापी कार्यालयका प्रतिनिधि सम्मिलित समितिको सिफारिस आवश्यक पर्ने व्यवस्था रहेको छ ।
डिभिजन वन कार्यालय धनकुटाका सहायक डिभिजनल वन अधिकृत धर्मनाथ यादवले सम्बन्धित कार्यालय र तहको सिफारिसमा जोखिमयुक्त रूख यकिन गरी मूल्याङ्कन गरेर कटान आदेश दिने बताउनु भयो ।