
काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सदनको पहिलो बैठकको कार्यसूची र सञ्चालन प्रक्रियाबारे दलहरूबीच समझदारी बनेको जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतिनिधि सभाको बिहीबारको पहिलो बैठकमा सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव पेस हुनेछ ।
बैठकले नयाँ नियमावली नबन्दासम्म हालकै संसद् नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने र पहिलो बैठकबाटै नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको पनि उहाँले बताउनु भयो । साथै हाउसको पहिलो बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन प्रक्रिया सुरू गरिनुका साथै शीर्ष नेताहरूले शुभकामना दिने कार्यसूचीमा सहमति जुटेको बुर्लाकोटीको भनाइ छ ।
सभाको पहिलो बैठकमा गत भदौ अन्तिम साताको जेन-जी आन्दोलनका सहिदहरूप्रति श्रज्ञाञ्जली व्यक्त गर्ने कार्यसूची पनि रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी संसदीय दलकी प्रमुख सचेत खुश्बु ओलीले संसद्को नियमावली संशोधन गर्नेबारे सबै दलहरू सकारात्मक रहेको बताउनु भयो ।
उहाँले कार्यव्यवस्था परामर्श समितिमा सबै दलहरूको समान सहभागिता रहनुपर्ने आफ्नो पार्टीको धारणा रहेको पनि बताउनु भयो । उहाँले संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी समन्वय र सहकार्यसहित प्रभावकारी उपस्थिति जनाउने बताउनु भयो ।