बिहीबारदेखि एसईई परीक्षा, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी हुने, एक महिनामै नतिजा प्रकाशन

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
बिहीबारदेखि एसईई परीक्षा, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी हुने, एक महिनामै नतिजा प्रकाशन

काठमाडौं । बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक विष्णुप्रसाद ज्ञावलीले बिहीafरदेखि हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँकाअनुसार परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । यसवर्ष ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । 

एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ । ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएको उप–नियन्त्रक ज्ञावलीले जानकारी दिनुभयो । सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन् । 

उप–नियन्त्रक ज्ञावलीकाअनुसार काठमाडौंका १ सय ३५ वटा परीक्षाकेन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिँदैछन् । सबैभन्दा कम मनाङमा भने एउटा परीक्षाकेन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन् । जापानमा रहेको केन्द्रबाट २३ जना विद्यार्थी सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

यसवर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ जना विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन् । एकपटक परीक्षामा असफल भएका विद्यार्थीलाई कम्तिमा तीन पटकसम्म परीक्षा दिने अवसर प्रदान गरिएको उप–नियन्त्रक ज्ञावलीले जानकारी दिनुभयो । २०७९ सालमा नियमिततर्फ परीक्षामा सहभागी भएर हालसम्म उत्तिर्ण हुन नसकेका विद्यार्थी परीक्षामा सहभागी रहेको उहाँको भनाइ छ ।

उप-नियन्त्रक ज्ञावलीकाअनुसार बालसुधार गृहमा रहेका विद्यार्थीको लागि नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा दिनेगरी व्यवस्था मिलाइएको छ । बालगृह नजिकै रहेको परीक्षा केन्द्रको केन्द्राध्यक्षले प्रश्नपत्र र उत्तरपुस्तिकासहित निरीक्षक पठाएर बालगृहमा नै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । 

उहाँकाअनुसार परीक्षा सकिएपछि संकलित उत्तरपुस्तिका सोही परीक्षा केन्द्रको विद्यार्थी भएमा अरु परीक्षार्थीसँगै राखेर जाँच गरिनेछ भने फरक केन्द्रको भएमा छुट्टै प्याकिङ गरेर परीक्षा नियन्त्रण कार्यलय पठाउने व्यवस्था गरिएको छ । विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीलाई पनि उनीहरूको आवश्यकताअनुसारको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । 

अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार ३ घन्टाको परीक्षामा उनीहरूलाई थप १ घन्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । 

उहाँकाअनुसार लेखन सहयोगी विद्यार्थीलाई विद्यालयले प्रमाणित गर्नुपर्ने र उनीहरुलाई छुट्टै कक्षाको व्यवस्था गर्नेगरी तयारी गरिएको छ । उहाँले विद्यार्थीलाई परीक्षा केन्द्रमा समयमै उपस्थित हुन, प्रवेशपत्र, आवश्यक लेखन सामग्री साथमा ल्याउन तथा मोबाइल लगायत निषेधित सामग्री नल्याउन आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ बजेदेखी सुरु हुने भएकाले ढिलोमा साढे ७ बजेसम्म परीक्षाकेन्द्रमा पुग्न र निर्धक्क भएर परीक्षा दिन उहाँले आग्रह गर्नुभयो ।

एक महिनामै नतिजा प्रकाशन

परीक्षा नियन्त्रक कार्यलयले यसवर्षको एसईई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नेगरी तयारी गरेको छ । उप–नियन्त्रक ज्ञावलीले विगतमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने पनि स्पष्ट पार्नुभयो । सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकोले सोहीअनुसार तयारी गरिएको उहाँको भनाइ छ । 

उहाँकाअनुसार परीक्षाकेन्द्रमा नै उत्तरपुस्तिका जाँच गर्ने तयारी गरिएको छ । परीक्षा भएको विषयको सोही दिन परीक्षाकेन्द्रमा परीक्षक र संपरीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय इकाईमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाईले तोकिएको समयमा लब्धांकपत्रहरू परीक्षा नियन्त्रण कार्यलय पठाउनेछ ।

परीक्षा नियन्त्रण कार्यलयले यसवर्ष अनुगमनमा पनि कडाइ गर्ने जनाएको छ । परीक्षार्थीहरूलाई असहज हुनेगरी कक्षाकोठामा अनावश्यक भिडभाड नगर्न अनुगमनमा कडाइ गरिएको हो । कार्यलयले परीक्षा अवधिमा कुनै समस्या आए तुरुन्त निरीक्षकलाई जानकारी गराउन पनि विद्यार्थीलाई अनुरोध गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.