इनिशा विक प्रकरण : पक्राउ परेका नाबालकहरूलाई बाल सुधार गृहमा पठाउन आदेश

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
इनिशा विक प्रकरण : पक्राउ परेका नाबालकहरूलाई बाल सुधार गृहमा पठाउन आदेश

सुर्खेत । इनिशा विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकहरूलाई पूर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको छ । 

मंगलबार सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले चारै जना नाबालकहरूलाई पूर्पक्षका लागि बाल सुधार गृहमा पठाउन भनेको हो ।

अदालतका सूचना अधिकारी उज्वल रावलले हाललाई पूर्पक्षका लागि सुधार गृह पठाइए पनि मुद्दाको अन्तिम फैसला भने बाँकी नै रहेको जानकारी दिनुभयो । सबै साक्षीहरूको बयान र प्रमाणहरूको अध्ययन गरिसकेपछि मात्र यस मुद्दामा अन्तिम ठहर हुने रावलले बताउनुभयो । 

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आउनु भएको थियो । फागुन २३ गते शनिबार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किनु भएकी उहाँ बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिनुभएको थियो । ‎

प्रहरीले उहाँलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट उहाँका प्रेमी भनिएका १६ वर्षे नाबालकलाई नियन्त्रणमा लिएको थियो । इनिशाका परिवार तथा आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते अन्य तीन जनाको नाममा निवेदन दिए । प्रहरीले ती तीन जना नाबालकलाई सोही दिन पक्राउ गर्‍यो ।

चैत्र ११ गते प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा इनिसामाथि सामूहिक नभई एकल करणी भएको निष्कर्षसहित पठाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.