.png&w=1000&height=550)
बारा । बाराको कलैया उपमहागनरपालिकामा स्थानीय सरकारको बजेटबाट बस्ती नै नबसेको क्षेत्रमा लाखौँ रूपैयाँ खर्च गरी सडक ढलान भइरहेको छ। तर, सोही वडाका पुराना बस्तीहरू भने अझै हिलाम्मे बाटोको समस्यासँग जुधिरहेका छन् ।
कलैया उपमहानगरपालिका-४ मा ५० लाख र"पैयाँ लागतमा नगरस्तरीय योजनाबाट सडक तथा नाला ढलानको काम तीव्र गतिमा भइरहेको छ। जानकी सिनेमा हलको ट्रान्सर्फमरदेखि पूर्वतर्फको सडक अहिले ढलान भइरहेको हो। दुई वर्षअघि मात्र प्लटिङ गरिएको यस क्षेत्रमा हालसम्म तीनवटा मात्रै घर बनेका छन्।
तर, यही वडामा विगत १० वर्षदेखि बसोबास गर्दै आएको बस्तीहरू अहिलेसम्म बाटोको हालत कस्तो छ भन्ने कुरा यो दृष्यले बताइरहको छ। वर्षायाममा यी बस्तीहरूमा आउन जानसमेत कठिनाइ हुने गरेको छ। यस्तो बाटो नगरको प्राथमिकतामा नपरेर बस्ती नै विस्तार नभएको ठाउँमा बजेट खर्च गरिएपछि स्थानीयवासीले प्राथमिकतामाथि प्रश्न उठाएका छन् ।
वडा नम्बर ४ मै रहेको ओमप्रकाश केशरीको घरदेखि दक्षिण जाने यो बाटो ढलान गर्नको लागि ढुंगा बिछ्याइएको चार वर्ष भइसक्यो तर पनि यो बाटो अहिलेसम्म ढलान भएको छैन । तर, नयाँ प्लटिङ गरेको जग्गामा बस्ती नै नबसेको ठाउँमा यसरी नगरपालिकाले बजेट हाल्नुमा स्वार्थ बाझिएको पूर्वजनप्रतिनिधि बताउँछन् ।
नगरपालिका स्रोतका अनुसार उक्त प्लटिङमा केही प्रभावशाली व्यक्तिहरूले जग्गा खरिद गरेका कारण नगरपालिकाले बस्ती बिनाको यो क्षेत्रमा बाटो ढलान गरिहेको छ। यस विषयमा नगरप्रमुख विनोद साहसँग प्रतिक्रिया लिन खोज्दा उहाँले केही बोल्न चाहनु भएन।