
कपिलवस्तु । कपिलवस्तुको उत्तरी क्षेत्रका किसान चैते धान रोपाइँमा व्यस्त छन् ।
हिउँदे बाली नलगाई बाँझै रहको खेतको उपयोग, कम समयमा उत्पादन, बढ्दो माग र राम्रो मूल्य पाउने हुँदा किसानहरू चैते धान लगाउन आकर्षित भएका हुन्। यतिखेर विषेश गरी वाणगंगा र कपिलवस्तु नगरपालिकाको उत्तरी क्षेत्रमा चैते धान रोपाइँको चटारो छ।
उहाँ हुनुहुन्छ वाणगंगा नगरपालिका-२, राजपुरका जयलाल भण्डारी । उहाँले हिउँदमा सधैँ बाँझै रहने खेतमा यसवर्ष चैते धान लगाउनुभएको छ। त्यो पनि परम्परागत तरिकाले नगरेर आधुनिक प्रविधि प्रयोग गरेर। उहाँले मेसिनले रोप्न प्लास्टिक ट्रेमा राखेको बीउ १५ दिनमै तयार भयो।
१० कठ्ठा खेत रोप्न दुई घन्टामा हिलाम्य पारेर ठिक पार्नुभयो। मेसिनले दुई घन्टामै रोपेर भ्याउँदा जयलाल दंग पर्नुभएको छ। परम्परागत खेती गर्दै आएका जयलाल मेसिनले गरेको काम देखेर चकित पनि हुनुहुन्छ । कपिलवस्तु नगरपालिका ११, अरौराकोट गाउँका सोनुकुमार चौधरीले पनि चैते धान मेसिनबाट रोप्न प्लास्टिक ट्रेमा बीउ राख्नुभएको छ।
गत वर्षदेखि परम्परागत तरिकाले चैतेधान लगाएका सोनुकुमारले यसपटक भने मेसिनले रोप्दा कम खर्चमा थोरै समयमा किफायती तरिकाले रोपाइँ हुने देखेर त्यसमा आकर्षित भएको बताउनुहुन्छ। १० कठ्ठा खेत हातैले रोपाइँ गरी भ्याएका सोनुकुमार ६ कठ्ठामा मेसिन लगाउने तयारीमा हुनुहुन्छ।
परम्परागत तरिकाले चैते धानको खेती गर्दै आएका किसानलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम जितपुरले उन्नत प्रविधि प्रदर्शन कार्यक्रमअन्तर्गत आधुनिक मेसिनले धान रोप्न सिकाएको हो। मेसिनले धान रोप्दा लागत ४० प्रतिशत घट्ने, बीउ छिटो तयार हुने र छिट्टै भित्र्याउन सकिने फाइदाहरू छन्।
मेकानिलक राइस ट्रान्सप्लान्टर मेसिनद्वारा धान रोप्दा श्रम, लागतसँगै समयको पनि धेरै बचत हुन्छ। गोडमेल र झारपात निकाल्न सजिलो, छिटो हुर्कने हुँदा उत्पादन लागत घट्छ। चैते धानको माग बढ्दो र सहज बजारीकण भई राम्रो मूल्यमा बिक्री हुने हुँदा फाइदा पनि बढी हुने हुनाले किसान यसको खेतीमा लागेका छन्। यसपटक वाणगंगा र कपिलवस्तु नगरपालिका गरी १२ हेक्टरमा चैते धान रोपिएको छ।