एमाले धादिङले प्रमुख जिल्ला अधिकारीलाई बुझायाे ज्ञापनपत्र

चैत्र १५, २०८२ |पोषनाथ अधिकारी
एमाले धादिङले प्रमुख जिल्ला अधिकारीलाई बुझायाे ज्ञापनपत्र

धादिङ । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी धादिङले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरूद्धमा आइतबार धादिङ बेसीमा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

शनिबार बिहान गरिएको गिरफ्तारीलाई प्रतिशोधपूर्ण, पूर्वाग्राही र गैरकानुनी भन्दै एमाले धादिङले पार्टी कार्यालय रहेको सदरमुकाम धादिङ बेसीको पुछारबजारबाट जुलुस निकाली बिचबजार हुँदै जिल्ला प्रसासन कार्यालय अघि पुगेर विरोध सभा गरेको थियो । विरोध सभालाई केन्द्रीय सदस्य खेम लोहनी र भूमि त्रिपाठिले सम्बाेधन गर्नु भएको थियो ।

उहाँहरूले यो कदमलाई लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत रहेको ठहर गर्दै दुवै नेतालाई तत्काल रिहा गर्न माग गर्नु भयो । सम्बोधनपछि एमाले धादिङले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र समेत पठाएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले गेट बाहिर नै आएर ज्ञापनपत्र बुझ्नु भएको थियो ।

यसअघि सनिबार एमाले धादिङले पक्राउको विरूद्धमा विज्ञप्ति निकालेर विरोध र साँझमा राके जुलुस समेत निकालेको थियो ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।