रूपान्तरणकारी बजेटको संकेत : अर्थमन्त्री वाग्लेको रोजगारी र पूर्वाधारमा जोड

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूपान्तरणकारी बजेटको संकेत : अर्थमन्त्री वाग्लेको रोजगारी र पूर्वाधारमा जोड

काठमाडौं । नवनियुक्त अर्थमन्त्री स्वणिर्म वाग्लेले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट रूपान्तरणकारी हुने र त्यसले मध्यमस्तरको विस्तार गर्दै निम्न वर्गीयलाई राज्यमार्फत नै सेवा सुविधा उपलब्ध गराउने नीति लिने बताउनुभएको छ । 

साथै ठूला आयोजनामा लगानी बढाउँदै रोजगारी वृद्धिसँग जोडिएको आर्थिक रूपान्तरणको नीति लिने जानकारी दिनुभएको छ । नवनियुक्त अर्थमन्त्री स्वणिर्म वाग्लेले पदभार ग्रहण गरेपछि अब जेठ १५ मा आउने बजेटले आर्थिक राजकाजको जहाज नै नयाँ दिशामा मोड्ने बताउनुभएको छ । 

त्यसका लागि रूपान्तरणकारी बजेट ल्याउने र जसमा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने उहाँको भनाइ छ । गुणस्तरीय सडकको निर्माण गर्दै ढुवानी लागत घटाउने उहाँको तर्क छ । रोजगारी सिर्जना बिनाको आर्थिक वृद्धि नभइ रोजगारीलाई प्राथमिकता दिएर बेरोजगारी कम गर्ने र आर्थिक वृद्धिलाई प्राथमिकतामा राख्ने उहाँको भनाइ छ । 

मध्यमस्तर परिवारको आकार बढाउने र बिपन्नलाई राज्यको सहारा प्रदान गर्ने मन्त्री वाग्लेले जानकारी दिनुभयो । प्रवासमा रहेका नेपालीका लगानी पहिलो प्राथमिकतामा राख्दै त्यसलाई नेपाल भित्र्याउन काम गर्ने मन्त्री वाग्लेले बताउनुभयो । अहिलेको अवस्थाको चित्रण गर्नेगरि वास्तविक अवस्था पत्ता लगाउन ५ दिनभित्र आर्थिक अवस्था सार्वजनिक गर्न एक कमिटी पनि गठन गर्नुभएको छ । 

जसले औंल्याएको अर्थत्न्त्रको वर्तमान अवस्थाका आधारमा नीति तय गर्ने उहाँको तयारी छ । भदौ २४ गते उद्योगधन्दा तथा व्यापारीक स्थलमा भएको आगजनीले निजी क्षेत्र त्रासमा रहेको भन्दै उहाँले अब निजी क्षेत्रको लगानी सुरक्षाका लागि बजेट र केही नेपाल ऐन नै संशोधन गर्ने बताउनुभएको छ । 

साथै १२ सय मेगावाटको बुढिगण्डकी जलविद्युत आयोजना जस्ता ठूला आयोजनामा लगानी गर्ने र विकास निर्माणका लागि बाधक रहेका कानुन एकै पटक संशोधन गर्ने बताउनुभयो । आर्थिक सुधार सुझाव आयोगले बुझाएको प्रतिवेदनलाई आधार मानेर त्यसको कार्यान्वयन गर्ने र जसका लागि १५ वटा ऐन खारेजको प्रक्रिया अघि बढाउने पनि निर्णय गर्नुभएको छ । साथै सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ का सुझाव अद्यावधिक गरेर त्यसको पनि कार्यान्वयनमा लाने बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.