
काठमाडौं । नवगठित मन्त्रिमण्डलमा दश जना ४० मुनिका युवा छन्।
बादी समुदायले पहिलो पटक मन्त्री पाएको छ । मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशत छ । नवनियुक्त मन्त्रीमध्ये दुई जनाले विद्यावारिधिसम्मको अध्ययन पूरा गरेका छन् भने १० जनाले स्नातकोत्तर उत्तीर्ण गर्दा तीन जनाले स्नातकसम्मको अध्ययन गरेका छन् ।
मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व छ भने १३ जना नयाँ अनुहार छन् । परराष्ट्र मन्त्री शिशिर खनाल र उर्जा जलश्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भने यसअघि पनि मन्त्री बनेका थिए । १५ सदस्यीय मन्त्रिपरिषद्को दोस्रो नम्बरमा डा. स्वर्णिम वाग्ले हुनुहुन्छ भने सुधन गुरूङको वरीयता तेस्रो नम्बरमा हुनुहुन्छ ।
अहिले २२ मन्त्रालय रहेकामा प्रधानमन्त्री शाहले आफूसँग तीन मन्त्रालय राख्नुभएको छ भने बाँकी चार मन्त्रीलाई दुई/दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री शाहले आफूसँग प्रधानमन्त्री कार्यालयसँगै रक्षा तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राख्नुभएको छ ।
शाहले सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । प्रतिभा रावललाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन, गीता चौधरीलाई कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण र निशा मेहतालाई स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बाँकी मन्त्रीलाई एक/एक मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै डा. स्वर्णिम वाग्लेलाई अर्थ, सुदन गुरूङलाई गृह, शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ । विराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, खडक पौडेल (गनेस)लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा.विक्रम तिमल्सिनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिनुभएका प्रधानमन्त्री शाहले श्रम रोजगार मन्त्रालयको जिम्मेवारी दीपक साहलाई र सीता वादीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । सीता वादी वादी समुदायको पहिलो मन्त्री बन्नु भएको छ ।
बालेन्द्र मन्त्रिपरिषद्मा महिला मन्त्रीको संख्या पाँच रहेको छ भने मन्त्रिपरिषद्मा महिला सहभागीता ३३ प्रतिशत पुगेको छ ।