आईपीएल २०२६ भाेलिदेखि

कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गर्ने
चैत्र १३, २०८२ |सुवास रोकाया
आईपीएल २०२६ भाेलिदेखि

काठमाडौं । विश्वकै सबैभन्दा लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग-आईपीएलको १९औं संस्करण शनिबादेखि सुरू हुँदै छ । 

यस वर्षको लिग हालसम्मकै सबैभन्दा भव्य हुने अपेक्षा गरिएको छ । जहाँ १० टोलीबीच कुल ८४ रोमाञ्चक खेल हुनेछन् । नेपाली क्रिकेट प्रेमीहरूको सुविधालाई मध्यनजर गर्दै कान्तिपुर म्याक्सले यस पटक पनि आईपीएलको पूरै सिजन प्रत्यक्ष प्रसारण गर्ने छ ।

क्रिकेट प्रेमीहरूको लामो प्रतीक्षा अब अन्त्यतिर छ । चिन्नास्वामी स्टेडियममा खेलिने आईपीएल २०२६ को उद्धघाटन खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरू र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्ने छन् । बिसीसीआईले यस पटक उद्धघाटन समारोह भने आयोजना हुने छैन ।

रोचक कुरा त के छ भने पहिलो पटक सबै १० टोलीका कप्तान भारतीय खेलाडी छन् । आईपीएल २०२६ का खेल भारतका १३ फरक सहरमा आयोजना हुनेछन् । १० टोलीमध्ये सातले एक-एक होम ग्राउन्ड रोजेका छन् भने बैंगलुरू, पञ्जाब र राजस्थानसँग दुई-दुई होम ग्राउन्ड छन् ।

आईपीएलकै दौरान भारतका विभिन्न प्रदेशमा निर्वाचन हुने भएकाले हालसम्म दुई चरणमा सुरुवाती ७० खेलको तालिका सार्वजनिक गरिएको छ । बाँकी खेल तालिका र स्थल निश्चित गरिएको छैन । यस वर्षको आईपीएलमा केही नयाँ नियम लागू गरिएको छ । 

खेल हुने दिन कुनै पनि टोलीले नेटमा अभ्यास गर्न पाउने छैनन् । खेलाडीहरूले आफू अनुकूल नभइ टिम बसमार्फत यात्रा गर्नुपर्नेछ र परिवारका सदस्य केवल हस्पिटालिटी जोनमा मात्र बस्न पाउने छन् । डगआउट वा मैदानमा अनुमति बिना बच्चा वा परिवारको उपस्थिति निषेध गरिएको छ । 

साँझका खेलहरूमा दोस्रो इनिङ्समा बलिङ गर्ने टिमले १०औं ओभरपछि एकपटक बल परिवर्तन गर्न पाउनेछ । तर, नयाँ बल पुरानो जत्तिकै घिसिएको हुनुर्ने छ तर अन्तिम निर्णय अम्पायरको हुनेछ । ड्रेसिङ रूममा आधिकारिक स्टाफ मात्र प्रवेश गर्न पाउनेछन् । 

अधिकतम १२ सपोर्ट स्टाफ मैदानमा बस्न पाउनेछन् । कम्तिमा एक जना डाक्टर अनिवार्य हुनुपर्नेछ । ओरेन्ज क्याप र पर्पल क्याप जित्ने खेलाडीले खेलको सुरुवाती ओभरहरूमा अनिवार्य रूपमा क्याप लगाउनु पर्ने छ । खेलाडी र स्टाफलाई एलइडी विज्ञापन बोर्ड नजिक नबस्न र बल नहान्न निर्देशन दिइएको छ । 

खेलाडीले खेलको सुरुवाती दुई ओभरसम्म क्याप अनिवार्य रूपमा लगाउनु पर्नेछ । पोस्ट म्याच प्रेजेन्टेसनमा स्लीवलेस जर्सी लगाएर उपस्थित हुन पाइने छैन । यसबाहेक अन्य थुप्रै नियम पनि परिवर्तन गरिएको छ । आईपीएल २०२६ को अक्सनमा अस्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीन सबैभन्दा महँगा खेलाडी बनेका थिए । 

उनलाई कोलकाता नाइट राइडर्सले २५ दशमलव २० करोड भारतीय रूपैयाँमा खरिद गरेको थियो । भारतीय अनक्याप्ड खेलाडीमध्ये प्रशान्त वीर र कार्तिक शर्मालाई चेन्नई सुपर किंग्सले समान १४ दशमलव २० करोडमा किनेको थियो ।

स्याम करन, हर्सित राना, नाथन एलिस, ज्याक एडवड्र्स, आकाश दीप र यश दयाललगायतका खेलाडीले चोटका कारण आईपीएल गुमाउने छन् । कुनै क्लबले घाइते खेलाडीको प्रतिस्थापन खोजिसकेका छन् भने केही क्लबको खोजी कार्य जारी छ । दिल्लीमा अनुबन्धित बेन डकेटले इंग्लिस करियरमा केन्द्रित हुने भन्दै प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए । यस पटक राजस्थान रोयल्स र आरसीबीको स्वामित्व परिवर्तन भएको छ ।

चेन्नाई सुपर किङ्सका ४४ वषिर्य खेलाडी महेन्द्रसिंह धोनी आईपीएल २०२६ का सबैभन्दा जेठा खेलाडी हुन् भने आरआरका १५ वषिर्य वैभव सूर्यवंशी सबैभन्दा युवा खेलाडी हुन् । तपाईंले यसपटक पनि नेपाली खेलाडी र विश्लेषको साथमा प्रि-म्याच एनालाइसीससहित कान्तिपुर म्याक्सबाट आईपीएलको पूरै सिजन हेर्न सक्नु हुनेछ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।