शिक्षामन्त्री पोखरेलको प्रतिबद्धता: राजनीतिक हस्तक्षेप अन्त्य गर्दै एआई-डिजिटल शिक्षा सुधारमा जोड

चैत्र १३, २०८२ |नारायण किलम्बू
शिक्षामन्त्री पोखरेलको प्रतिबद्धता: राजनीतिक हस्तक्षेप अन्त्य गर्दै एआई-डिजिटल शिक्षा सुधारमा जोड

काठमाडौं । विद्यालयदेखि विश्वविद्यालय शिक्षा सुधारका लागि राजनीतिक हस्तक्षेप मुक्त गरेर गुणस्तर र डिजिटल रूपान्तरणलाई प्राथमिकता दिई अघि बढ्ने नवनियुक्त शिक्षामन्त्री सस्मित पोखरेलले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

२९ वर्षीय युवा पोखरेलले शिक्षा मन्त्रालयको पदभार ग्रहण गर्दै शिक्षालाई अन्तराष्ट्रिय प्रतिस्पर्धी हुने शिक्षण सिकाइ र एआई र आइटी प्रविधिलाई जोड्दै शिक्षालाई प्रभावकारी बनाउँदै अघि बढ्ने बताउनुभयो । काठमाडौंमा जन्मिएर हुर्केका २९ वर्षीय सस्मित पोखरेलले शिक्षा विज्ञान तथा प्रविधि र खेलकुद तथा युवा मन्त्रालयको बागडोर सम्हाल्नुभएको छ । 

एक दशकदेखि वैकल्पिक राजनीतिमा सक्रिय पोखरेल हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको तर्फबाट काठमाडौंको क्षेत्र नं ५ बाट विजयी हुनुभएको थियो । सार्वजनिक नीति र प्रणाली सुधारका क्षेत्रमा कियाशील पोखरेल मन्त्रीको जिम्मेवारी सम्हालेपछि विद्यालयदेखि विश्वविद्यालयमा भइरहेको राजनीतिक हस्तक्षेपको अन्त्य गरी शिक्षा सुधारमा प्राथमकिता दिई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

विशेष रूपमा सामुदायिक विद्यालयको गुणस्तर सुधार शिक्षकको क्षमता विकास भौतिक पूवार्धारसँगै समयसापेक्ष डिजिटल शिक्षामा रूपान्तरण गरी अघि बढ्ने मन्त्री पोखरेलको जोड छ । र, निजी शिक्षालाई व्यवस्थित गर्दै लिएर जाने उहाँ बताउनुहुन्छ ।

विद्यालय शिक्षा ऐनको अभावमा प्रदेश र स्थानीय तहहरूले शिक्षासम्बन्धी कानुन ल्याउन सकेको छैन । जसले गर्दा विद्यालय शिक्षा अस्तव्यस्त भइरहेको विषयमा मन्त्री पोखरेले अन्तराष्ट्रिय स्तरको शिक्षा प्रणाली विकासका लागि सोहि अनुसारको एआई र आइटीलाई जोडेर कानुन निर्माणमा प्राथमिकता दिनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै विद्यालय तहबाटै खेलकुदलाई पाठ्यक्रमसँग जोड्ने गरी नीति नियम बनाउने उहाँको योजना रहेको छ ।

अमेरिकाको वुडल्यान्ड क्रिशियन स्कुल र ओकटन हाइस्कुलबाट विद्यालय शिक्षा पूरा गरेका पोखरेलले काठमाडौं विश्वविद्यालयबाट कानुन तथा व्यवस्थापन विषयमा शिक्षा हासिल गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयमा नीति सुशासन तथा भष्ट्राचार निवारणमा स्नातकोत्तर अध्ययनरत मन्त्री पोखरेलले २०७९ सालको स्थानीय तहको निर्वाचनमा मेयर बालेन्द्र शाहलाई विजयी बनाउन भूमिका र बालेन्द्रकै शिक्षा सल्लाहकारको रूपमा रहेका काम गरेको अनुभव छ ।

सामुदायिक र निजी गरी ३५ हजार विद्यालय र संघ प्रदेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसमेत गरी २८ वटा विश्वविद्यालय शिक्षा सुधार र समयसापेक्ष गुणस्तरी विश्वप्रतिस्पर्धी नागरिक उत्पादन र शिक्षामा बजेट वृद्धिका लागि शिक्षा मन्त्रालयका कर्मचारीसँग हातेमालो गरी अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।