प्रधानमन्त्री कपमा सुदूरकाे दोस्रो जित

चैत्र १३, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कपमा सुदूरकाे दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कपमा दोस्रो जित हात पारेको छ । 

सुदूरपश्चिम कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । यस जितसँगै सुदूरपश्चिम तालिकाको चौथो स्थानमा उक्लिएका छ । चार खेलमा लगातार तेस्रो हार बेहोरेको कोशीले जितको खाता खोल्न सकेको छैन । सुदूरको जितमा हेमन्त धामीले बलिङ र खड्क बोहरााले ब्याटिङ प्रदर्शन उत्कृष्ट प्रदर्शन गरे। 

वीरगञ्जको नारायणी क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको कोशीले ४३ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ३० रनको सामान्य योगफल मात्र तयार पार्न सक्यो । उसका लागि सिवास बजगाईंले सर्वाधिक २५ रन बनाए । 

सुमन श्रेष्ठले २४ रन, दीपेश कँडेलले २० रन फिर्दोश अन्सारीले १८ र सकिब हकले १५ रन बनाए । अन्य ब्याटरलेले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका लागि हेमन्तले ९ ओभरमा ३ मेडनसहित २६ रन खर्च गरेर ४ विकेट लिए । किरणले २ विकेट हात पारे ।

१ सय ३१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । ओपनर अभिषेक पाल मात्र १४ रनमा र प्रकाश पाण्डे ४ रनमा आउट भए । खड्क बोहोरा र किरण ठगुन्नाले तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गर्दै सुदूरलाई अघि बढाए । 

खड्कले ४५ बल खेल्दै ९ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रनको अर्धशतकीय योगदान दिए । किरण २५ रनमा अविजित रहे । कोशी लागि विपिन महतोले २ विकेट लिए । यससँगै ३ खेलमा २ जितसहित ४ अंक जोडेको सुदूरपश्चिम तालिकाको चौथो स्थमानमा उक्लिएको छ। ४ खेलमा १ अंक जोडेको कोशी पुछारबाट दोस्रो स्थानमा छ ।