नेपाल साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा

चैत्र १३, २०८२ |खेल ब्युरो
नेपाल साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल समूह 'ए'को विजेताका रूपमा साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार सम्पन्न समूहको आफ्नो अन्तिम खेलमा आयोजक माल्दिभ्ससँग १-१ गोलको बराबरीमा रोकिएपनि नेपाल अपराजित रहँदै अन्तिम चारमा प्रवेश गरेको हो । यस हारसँगै माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएको छ । नेस्नल फुटबल स्टेडियम मालेमा घरेलु टोली माल्दिभ्सले सुरुवाती अग्रता बनाएको थियो । 

खेलको १४औं मिनेटमा मोहम्मद इलान इमरानले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ८६औं मिनेटमा सुवास बमको फ्रिकिकमा निशान राज लावतले नेपालका लागि बराबरी गोल फर्काए । त्यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा १ अंक जोडेको नेपालका लागि समूह बिजेता बन्न प्रयाप्त भयो । 

समूह 'ए'मा अपराजित नेपालले ३ खेलबाट ७ अंक जोड्यो । ३ खेलमा २ अंक जोडेको माल्दिभ्स भने जितविहिन रहँदै प्रतियोगिताबाट बाहिरियो । अब नेपालले सेमिफाइनलमा समूह 'बी'को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह 'बी'बाट भारत र बंगलादेश यसअघिनै सेमिफाइनलमा पुगिसकेका छन् । 

यस समूहको विजेता र उपविजेताको टुङ्गो शनिबार हुने भारत र बंगलादेशबिचको खेलपछि लाग्ने छ । यस समूहबाट पाकिस्तान जितविहीन रहँदै बाहिरिसकेको छ । समूह 'ए'बाट उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्न केही बेरमा भुटान र श्रीलंका प्रतिस्पर्धा गर्नेछन् ।