काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री सुनिल लम्सालले म्याद थप हुन नदिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री लम्सालले म्याद थपेका सबै योजना रूग्ण मानिने बताउनु भयो । उहाँले समयमा सम्पन्न नभएका ठेक्काहरूको अध्ययन गरी भएका बाधा फुकाउने जिकिरसमेत गर्नुभयो । सरकारी रेकर्ड अनुसार हाल भौतिकतर्फका २ सय ४० भन्दा बढी ठेक्का रूग्ण छन् ।
ब्रिफिड कार्यक्रममै आफ्नो मोबाइलबाट एक ठेकेदारले बोलेको भिडियो देखाउँदै मन्त्री लम्सालले ठेकेदार र इन्जिनियरबीचको साँठगाँठ र आर्थिक चलखेलले पूर्वाधर निर्माणमा समस्या आउने गरेको र चरम भ्रष्टाचार हुने गरेको जिकिर गर्नु भयो । उहाँले यस्तो कार्य नदोहोर्याउन निर्देशनसमेत दिनु भयो ।
हाल २७ लाख बक्यौता रहेको लाइसेन्स छपाइको हकमा भने उहाँले सुरक्षण मुद्रण केन्द्रले सातै प्रदेशबाट लाइसेन्स छपाइ गरेर बन्यौता हटाउनुपर्ने बताउनु भएको छ । उहाँले अस्थायी व्यवस्थाको हकमा चिप बिनाको कार्ड तुरून्त दिनुपर्नेमा जोड दिनु भयो ।
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतकै पानीजहाज कार्यालय र रेल विभागका बारेमा मन्त्री लम्सालले बढी नै चासो राख्नुभयो । यी अड्डाले के काम गरिरहेका छन् भन्दै मन्त्री लम्सालले चासो मात्रै राख्नुभएन, यसको उपादेयता के छ ? भन्दै प्रश्न पनि गर्नुभयो ।
जवाफमा पानी जहाज कार्यालयका प्रमुख मणिराम भूसालले आवश्यक कानुन नबनेको तर, कानुन बने जलमार्गको सम्भावना रहेको औंल्याउनु भएको थियो । रेलको हकमा भने मन्त्री लम्सालले पूर्व-पश्चिम रेललाई प्राथामिकता दिनुपर्ने बताउनु भएको थियो ।
यसपटक मन्त्रीको स्वागतमा भने मन्त्रालयमा कुनै तामझाम थिएन । धेरै कर्मचारीले मन्त्री आएकै पत्तो पाएनन् । कार्यभार सम्हाल्दै गर्दा कुनै पनि निर्णयमा हस्ताक्षर नगरेका लम्सालले कर्मचारीसँग ब्रिफिड लिँदासम्म पत्रकारलाई प्रवेश निषेध गर्नुभएको थियो । लम्सालले सम्हालेको मन्त्रालय सबैभन्दा बढी बजेट पाउने तर, कम भौतिक र वित्तीय प्रगति गर्ने मन्त्रालय हो ।