चितवनमा स्पाइ क्यामेराको निगरानी : प्रविधिले रोके चोर शिकारी, गैंडा सुरक्षित

चैत्र १३, २०८२ |राजु चौधरी
चितवनमा स्पाइ क्यामेराको निगरानी : प्रविधिले रोके चोर शिकारी, गैंडा सुरक्षित

चितवन । नेपालकै पहिलो हो चितवन राष्ट्रिय निकुञ्ज । 

बाघ, गैंडा, हात्तीलगायत वन्यजन्तुको मुख्य बासस्थान रहेको यो निकुञ्ज निकै संवेदनशील मानिन्छ । विगतमा चोर शिकारीबाट गैंडालगायतका थुप्रै वन्यजन्तु मारिए । अहिले नयाँ प्रविधिको प्रयोगले वन्यजन्तुहरू चोर शिकारीबाट जोगिएका छन् । जासुसी क्यामेरालगायतका प्रविधिबाट चोरी शिकार नियन्त्रण प्रभावकारी बन्दै गइरहेको छ ।

गत जेठमा चितवन राष्ट्रिय निकुञ्जको संवेदनशील क्षेत्रमा दुई व्यक्ति सैनिक पोशाकमा बन्दुक बोकेर गस्ती टोली हिँडेको देखियो । त्यहाँ जडान गरिएका 'स्पाई क्यामेरा'बाट तुरून्तै त्यो तस्बिर निकुञ्ज मुख्यालय कसरामा पुग्यो । शंकास्पद गतिविधि देखिएपछि निकुञ्जको सुरक्षा टोली तत्काल त्यहाँ पुग्दा उनीहरू आफूसँग रहेको झोला फालेर फरार भइसकेका थिए । 

निकुञ्ज र नयाँ गोरख गणको तालिम प्राप्त कुकुरसहितको सेनाको टोलीले पछ्याउँदै जाँदा क्यामेरामा कैद भएको चार दिनपछि अर्थात् जेठ २२ गते हेटौंडा-३ का अक्कलबहादुर विश्वकर्मालाई मकवानपुरको मनहरी क्षेत्रबाट नियन्त्रणमा लिइयो । अनुसन्धानको क्रममा अक्कलबहादुरकै सूचनाको आधारमा फोटोमा कैद भएका अर्का पर्सागढी नगरपालिकाका रामशरण विकलाई गत मंसिरमा पक्राउ गर्न सफल भयो । 

यो तथ्यले चोरी शिकार नियन्त्रणमा प्रविधिको सफल प्रयोग पुष्टि गरेको छ । अक्कलबहादुर जेन-जी आन्दोलनको क्रमबाट चितवन कारागारबाट फरार छन् भने मंसिरमा समातिएका रामशरण कारागारमै छन् । चितवन, पर्सा, मकवानपुर र नवलपुर गरी चार जिल्लामा ९५२ दशमलव ६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जमा सबै क्षेत्रमा नियमित गस्ती टोलीले मात्र सुरक्षा दिन सम्भव छैन । 

त्यही भएरै निकुञ्जले विगत तीन वर्षदेखि संवेदनशील क्षेत्रहरूमा दुई मोडेलका २५ वटा स्पाइ क्यामेरा जडान गरेको हो । यो वायरलेस क्यामेराले तस्बिर कैद गर्नेबित्तिकै इमेलमार्फत निकुञ्ज हेडक्वाटर कसरामा पठाउँछ । मोबाइलमा समेत संकेत दिने यो क्यामेरा अहिले निकुञ्जमा थप गर्ने र ठाउँ परिवर्तनसमेत गर्ने गरिएको छ ।

स्पाइ क्यामेराको सहायताबाट निकुञ्जले अन्य अवैध गतिविधिमा संलग्नहरूलाई समेत पक्राउ गर्न सफल भएको छ । तियारी जालको प्रयोग गरी माछा मार्ने, अवैधरूपमा घाासदाउरा लिन जानेसमेत समातिएका छन् । निकुञ्जले यो क्यामेरासागै ड्रोन क्यामेरा, सीसीटीभी र सफारीमा चल्ने सवारीसाधनमा जीपीएस जडान गरेर पनि चोरी शिकार नियन्त्रणमा लागि परेको छ । 

निकुञ्जको तथ्यांकअनुसार चोर शिकारीबाट गैंडा नमरेको ८५७ दिन भएको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा १७ गैंडासहित ५७ वटा वन्यजन्तु मरे पनि ती कालगति र अन्य कारणले मरेका हुन् । चोर शिकारीबाट वन्यजन्तुको मृत्यु नहुनु प्रविधिको सफल प्रयोगलाई मानिएको छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।