सांसदको शपथमा देखिएको सम्पूर्ण नेपालको तस्बिर

चैत्र १२, २०८२ |अञ्जना लामिछाने
सांसदको शपथमा देखिएको सम्पूर्ण नेपालको तस्बिर

काठमाडौँ । सांसदहरूले आ-आफ्ना मौलिक पहिरनमा सजिएर शपथ लिइरहँदा संसद् भवनको बहुउद्देश्यीय हलमा सम्पूर्ण नेपालको तस्बिर देखियो । फरक जात, धर्म, समुदाय, लिङ्ग र भूगोलको प्रतिनिधित्व गरेका सांसदहरूले शपथ पनि आ-आफ्नै मातृभाषामा लिए । कोही भने आफूलाई फरक देखाउन अनौठो पहिरनमा शपथ समारोह पुगेका थिए ।

सबैको नजर थियो, शुक्रबारमात्र प्रधानमन्त्रीको शपथ लिन लाग्नुभएका रााष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहमा । सधैँजसो कालो पोशाक र कालो चश्मामा देखिने शाह बिहीबार भने सेतो दौरासुरुवाल, कालो कोट र कालै टोपीमा देखिनुभयो । कोटमा भने लिम्बू समुदायको सिलाम साक्मा लगाउनुभएको थियो । हलमा रास्वपा सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालको बीचमा बस्नु भएका उहाँ शपथ सकिएलगत्तै हतारहतार बाहिरिनुभयो ।

सांसदहरूका पहिरन र उपस्थितिले नेपालको विविधता झल्काएको थियो । उनीहरू आ-आफ्ना क्षेत्र, संस्कृति, भूगोल र परम्परा झल्कने पोशाकमा सजिएका थिए । नेवारी, गुरुङ, शेर्पा, लिम्बू, मगरलगायतका संस्कृति झल्कने पोशाकमा उपस्थित भएका थिए । धेरैजसो पुरुष सांसद राष्ट्रिय पोशाक दौरा सुरुवाल तथा महिला सांसद सारी र कोटमा सजिएका थिए ।

नेकपा एमालेका सांसदहरूको कोट दौरा सुरुवालको रङ उस्तै देखियो । यस्तै नेपाली कांग्रेसका अधिकांश सांसदले दौरा सुरुवाल र सारी चोलो तथा कोट लगाएका थिए । यता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि आ-आफ्नो मौलिकता झल्किने पोशाक लगाएका थिए । रास्वपाका अधिकांश नेताले उस्तै पोशाक लगाए पनि कसैलाई ड्रेस कोड भने तोकिएको थिएन ।

कोही भने आफूलाई फरक देखाउन अनौठो पहिरनमा थिए। रास्वपा सांसद रहबर अन्सारी पछाडी झोला बोकेर स्कुल पोशाकमा देखिनुभयो । बैठक सुरु हुनुभन्दा करिब डेढ घण्टा अगाडि संसद परिसर पुग्नुभएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दौरा सुरुवालमै सहभागी हुनुभएको थियो भने महावीर पुन सेता दौरासुरुवाल र खैरो कोटमै देखिनुभयो । पूर्वमिस नेपाल अनुस्का श्रेष्ठ नेवारी पोशाकमै हुनुहुन्थ्यो ।

मधेसका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने सांसदहरूले पनि आ आफ्नै परम्परा र संस्कृति जोडिएका पोशाक लगाएका थिए । यस्तै, संसद परिसरमा रोचक दृश्य पनि देखिए । सांसदहरु जगदीश खरेल र दीपक शाहले संसद् भवनको मूल ढोका ढोगेर भित्र प्रवेश गरे भने हलमा आपसमा अंगालो मार्दै परिचय र बधाइ साटासाटको शृंखला पनि चल्यो । अनि, माओवादीमा रहादाका पूर्वसहकर्मीहरू पुष्पकमल दाहाल र रामबहादुर थापा सँगै बस्दा असहज मानेको दृश्य पनि रोचक देखिएको थियो ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।